आत्महत्या र नेपाल कानून

आत्महत्या र नेपाल कानून


कमलप्रसाद इटनी

मानिसको सबैभन्दा महŒवपूर्ण र प्रियवस्तु ऊ आफ्नो शरीर हो, आफ्नो जीवन हो । मानिस जन्मन्छ र मानिसको मृत्यु हुन्छ । यो यथार्थ सत्य हो र यो प्रकृतिको अकाट्य नियमअन्तर्गत नै पर्छ । तर मानिसले प्रकृतिको अकाट्य नियम विपरीत आफ्नो शरीरलाई स्वयंको कार्यबाट सदाका लागि अन्त्य गर्ने गरी आफूले आफ्नो शरीरको हत्या गर्ने कार्य आत्महत्या हो । कुनै पनि व्यक्तिले आफूले गरेको कार्यको परिणामस्वरुप आफ्नै मृत्यु हुने कुरा जानीजानी त्यस्तो कार्य गरी आफूले आफै उपर आफ्नै ज्यान जाने गरी गरेको कार्यबाट उत्पन्न मृत्युको परिणामलाई आत्महत्या भनिन्छ ।
आत्महत्या गर्ने कार्य मानिसमा उत्पन्न हुने नकरात्मक सोंचको परिणाम हो । जीउनुभन्दा मर्नुमा नै उत्तम विकल्पको सोच बनाएर गरिने आत्महत्याजस्तो गम्भीर कार्यमा व्यक्तिले जीवन जीउनुलाई पीडादायी सम्झन पुगेको हुन्छ । जीवन जीउनुको विकल्पमा रहेको आत्महत्याबाट नै उसको सम्पूर्ण समस्याको समाप्ति भएको गलत सोंच र विचार उसमा रहेको हुन्छ, तर उसले आफूले आफ्नै जीवनको अन्त्य गर्नु नै कुनै पनि समस्याको समाधान हुन सक्तैन भन्ने कुराको यथार्थ कुराको बोध गर्न सकेको हुँदैन ।

अशिक्षित, अज्ञानता र कुनै पीडा संकटमा परेको व्यक्तिले मात्र आत्महत्या गर्ने नभई सम्पूर्ण रूपले सम्पन्नता र पूर्ण भएका व्यक्तिहरू पनि आत्महत्याको बाटो रोजेका थुप्रै उदाहरण पाउन सकिन्छ । आत्महत्या सम्बन्धमा विभिन्न धार्मिक दृष्टिकोणबाट पनि महान पापको रूपमा हेरिने र आत्महत्या गर्ने व्यक्ति स्वर्गमा होइन, ीसधै नरकमा जान्छ भन्ने मान्यता पनि रहेको पाइन्छ । प्राचिनकालमा समेत आत्महत्या गर्ने कार्यलाई दोस्रो व्यक्तिको हत्या गर्नु सरह मानी त्यसरी आत्महत्या गर्ने व्यक्तिलाई मृत्युपर्यन्त पनि घृणाकै दृष्टिकोणबाट भत्र्सना गरिने गरेको पाइन्छ ।
आत्महत्यालाई कमजोर मानसिकताको उपजको रूपमा लिइन्छ । मानिसमा मानसिक रूपमा उत्पन्न हुने तनावका कारण मानिसले आफ्नो क्षय आफै गरेको हुन्छ । मानसिक रूपमा उत्पन्न हुने तनावमा अन्य विभिन्न कारणले गहिरो रूपमा नकारात्मक प्रभाव पारेको हुन्छ । मुख्य रूपमा सामाजिक, आर्थिक र मनोवैज्ञानिकजस्ता कारणबाट नै समाजमा आत्महत्याको संख्याको वृद्धि दर दिनानुदिन उच्च हुँदै गएको हुन्छ । झट्ट हेर्दा आत्महत्याको घटनामा व्यक्ति स्वयंको व्यक्तिगत कारणबाट उत्पन्न परिणामका रूपमा लिइने भएतापनि आत्महत्याको घटनामा व्यक्तिगत घटनाले मात्र नभई समग्र रूपमा सामाजिक कारणले गहिरो प्रभाव र असर पारेको हुन्छ ।

फ्रान्सेली समाजशास्त्री इमाईल दुरर्खिमले पनि आत्महत्यालाई सामाजिक कारणसँग जोडेका छन । खासमा जीवन भनेकै सुख र दुःखको संघर्षको एउटा अभिन्न अंग हो । मानव जीवनमा यस्ता सुख दुःखका उतारचढावहरू आइनै रहन्छन् र कठिन समस्या परेको बेलामा त्यस्ता समस्याबाट हार नखाई संघर्ष गर्नु नै मानवीय शक्ति हो । कुनै दुःख र संकट आइपर्दा त्यस्तोमा समाधानको बाटोतर्फ नलागी समस्याबाट भागी आत्महत्याको मार्ग तय गर्नु भनेको मानवीय कायरता समेत हो । आत्महत्याका विभिन्न कारणमध्ये डिप्रेसनलाई प्रमुख कारणको रूपमा मानिँदै आएको छ ।

इच्छा, आकांक्षा, अपेक्षा, अभिमान र आवेश जस्ता कारणहरूले मानिसलाई डिप्रेशनको शिकार बनाइरहेको हुन्छ र यी नै कारणहरूबाट उत्पन्न असर स्वरुपको डिप्रेशनबाट बिचलित भई मानिस आत्महत्याको गलत मार्गतिर अग्रसर हुन पुगेको हुन्छ । वर्तमान अवस्थामा आत्महत्याका दरमा दिनानुदिन वृद्धि हुनुमा सामाजिक परिवेश तथा व्यक्तिमा हुने मनोविज्ञानले मुख्य असर पारिरहेको छ । पढाईमा अब्बल विद्यार्थी परीक्षामा फेल हुनु र आफूलाई असफल सम्झनु, बेरोजगारका कारण आर्थिक, मानसिक अवस्थामा विचलन आउनु, कुनै किसिमको गम्भिर रोग लागी उपचार गर्न नसक्नु र उपचार सम्भव भएपनि ठूलो आर्थिक क्षय हुन गई परिवारलाई थप आर्थिक भार पर्नसक्छ भन्ने कारणबाट, विवाहमा दाइजो दिन नसकेको कारण परिवारबाट हिंसात्मक व्यवहार प्रदर्शन भएको कारणबाट, वैवाहिक सम्बन्धमा हुने असमझदारी, पारिवारिक बेमेलको कारणबाट, सामाजिक सन्जाललगायत विभिन्न खालका माध्यमबाट हुने चरित्रहत्या जस्ता कार्यबाट, महिलाप्रति हुने यौनजन्य हिंशा, बलत्कार जस्ता कार्यको कारणबाट, कसैबाट लगाइएको झुठा आरोप, गाली बेइज्जतीजस्ता कार्यहरूको कारण मानिसले आत्महत्याको बाटो रोजेको हुन्छ ।


यस्ता घटनाहरूबाट मानिसको मानस्पटलमा गहिरो पीडादायी छाप पर्न गएको हुन्छ र त्यसरी पर्न गएको पीडादायी छापलाई नियन्त्रण गर्न नसकी मानिस आत्महत्याको मार्गमा पुग्छन् । त्यस्तै सिजोफ्रेनिया, डिमेन्सिया, अत्याधिक रूपमा रक्सी सेवन, लागू पदार्थको दुव्र्यसनका कारण पनि आत्महत्याका घटनामा वृद्धि हुन जान्छ । त्यस्तै अधिकांश समय कम्युटर, मोबाइल चलाएर बस्ने र आफन्त साथीभाइसँगको निकटता कम हुने र एक्लो बस्ने स्वभावको कारणबाट पनि कतिपय मानिसमा डिप्रेशन हुन सक्छ र यस्ता कार्यबाट आफूलाई सम्हाल्नु नै उत्तम हुन्छ ।

विश्वमा हरेक दिनप्रति तीन सेकेन्डमा एकजना व्यक्तिले आत्महत्याको प्रयास गर्ने गरेको र प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिको आत्महत्याको कारण मृत्यु हुने गरेको र बर्सेनि करिब आठ लाख मानिसले आत्महत्या गर्ने गरेको कुरा विश्व स्वास्थ्य संगठनले समय समयमा गर्ने गरेको तथ्यांकबाट थाहा पाउन सकिन्छ । आत्महत्या व्श्विव्यापी रूपमा देखिएको र बढ्दै गएको चिन्ताको विषय हो । नेपालमा समेत आत्महत्याको वृद्धि दर दिनानुदिन बढ्दै गएको पाइन्छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२÷०७३ मा ४६८० जनाले आत्महत्या गरेकोमा आ.व. ०७३÷०७४ मा ५१२४ र आर्थिक वर्ष ०७४÷०७५ मा ५३१४ जनाले आत्महत्या गरी आत्महत्याको संख्यामा हरेक वर्ष वृद्धि भइरहेको पाइन्छ । आत्महत्यामा आफूले आफैलाई गोली प्रहार गर्ने, वीष सेवन गर्ने, अत्याधिक मात्रामा औषधीको सेवन गर्ने, नदीाला भिर पाखाजस्ता जोखिमपूर्ण स्थानमा फाल हाल्ने, आफूले आफ्नै शरीरमाथि आगो लगाउने, शरीरका संवेदनशील अंग काट्ने र डोरी लगाएर झुन्डिनेजस्ता कार्य हुने गरेको पाइन्छ ।

आत्महत्यामा सामाजिक, आर्थिक, मनोवैज्ञानिक र वंशाणुगत कारणले नै यति धेरै विकराल समस्याका रूपमा लिएकोमा कुनै दुई मत रहेको छैन र यसरी विकराल समस्याको रूपमा रहेको आत्महत्याको रोकथामका लागि एक व्यक्तिको मात्र नभई सामुहिक प्रयासबाट मात्र यस किसिमको समस्याको न्यूनिकरण गर्न सम्भव हुन्छ

आत्महत्यामा सामाजिक, आर्थिक, मनोवैज्ञानिक र वंशाणुगत कारणले नै यति धेरै विकराल समस्याका रूपमा लिएकोमा कुनै दुई मत रहेको छैन र यसरी विकराल समस्याको रूपमा रहेको आत्महत्याको रोकथामका लागि एक व्यक्तिको मात्र नभई सामुहिक प्रयासबाट मात्र यस किसिमको समस्याको न्यूनिकरण गर्न सम्भव हुन्छ । राज्यबाट नागरिकहरूप्रति गरिने हरेक अवसर र व्यवहारमा विना भेद्भाव समान व्यवहार गर्नु, नागरिकको आर्थिक सामाजिक विकासलाई बढाउँदै लैजानु, व्यक्ति–व्यक्ति बिचको सामाजिक सम्बन्धलाई सुमधुर र मजबुद बनाउँदै लैजानु, मानसिक अवस्था कमजोर भएका व्यक्तिलाई समयमा नै आवश्यक उपचार प्रदान गरी समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । आत्महत्या व्यक्तिको मानसिक दुर्बलताको कारण हुने भएकाले खासगरी आत्महत्याको कारणको रूपमा रहेको सामाजिक, आर्थिक, पारिवारिक, व्यक्तिगत, सांस्कृतिक एवं मनोवैज्ञानिकजस्ता विविध विषयमा राज्य तथा व्यक्ति स्वयंको विशेष ध्यान जान सक्यो भने केही सकारात्मक परिणाम हासिल गर्न सकिन्छ । जसबाट आत्मरक्षाको रोकथाम पूर्णरूपमा गर्न असम्भव भएतापनि केही न्यूनीकरण भने अवश्य हुन्छ ।

आत्महत्या रोकथामका लागि एकको मात्र होइन । एकएक गरी सामुहिक रूपमा सबैको सहकार्यको आवश्यकता पर्छ । विद्यालयमा अध्यापन गराउने शिक्षक, अभिभावक, घर परिवार, समाजमा रहेका हरेक तह र तप्कामा रहेका सम्पूर्ण वर्गबाट यस कार्यको रोकथामका लागि हातेमालोको जरुरी पर्छ । आत्महत्या सम्बन्धमा आधुनिक विज्ञानमा आत्महत्यालाई मानसिक विकारको उपजका रूपमा लिइन्छ भने कानुनको नजरमा आत्महत्यालाई अपराध नमाने पनि आत्महत्या गर्ने दुरुत्साहनजस्ता कार्यलाई अपराध मानेको पाइन्छ ।
त्यस्तै असफल आत्महत्यालाई अपराधका रूपमा मान्ने कि नमान्ने भन्ने सवालमा फरक–फरक मत रहिआएको पाइन्छ । कतिपयले आत्महत्यामा असफल भएको व्यक्ति स्वयं पीडित भएको हुनाले उसलाई दण्ड होइन, मानसिक उपचारको व्यवस्था गरिनु पर्दछ भन्ने केहीको धारणा रहेको हुन्छ भने कतिपय देशले असफल आत्महत्यालाई उद्योगमा सजाय गर्ने कानूनी प्रावधान राखेको पाइन्छ । नेपालको कानूनी व्यवस्थाअन्तर्गत यसअघिको मुलुकी ऐनले आत्महत्यालाई अपराधका रूपमा सम्बोधन गरेको थिएन ।

यही १ भदौबाट लागू भएको मुलुकी अपराध संहिताको दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुुुुँदैन भन्ने उल्लेख गरी उल्लिखित कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने गरी कानूनी प्रावधान उल्लेख गरेको छ । यो व्यवस्था कुनै व्यक्तिलाई आत्महत्या गर्नका लागि कसैले उक्साएको छ भने वा आत्महत्याका लागि परिस्थिति खडा गरेको छ भने त्यसरी दुरुत्साहन गर्ने, परिस्थिति खडा गर्ने व्यक्तिलाई सजाय हुन्छ भने यदि कसैले आत्महत्याको प्रयास गरी कुनै कारणबाट असफल भई बाँच्न सफल भएको छ भने त्यस्तो असफल आत्महत्याका लागि सम्बन्धित व्यक्तिलाई दण्डित गर्ने कानूनी प्रावधान रहेको छैन ।

यसरी कानूनी प्रावधानको निर्माण हुनु, लागू हुनुजस्ता कुराहरू सामान्य नै हुन् । महŒवपूर्ण सवाल भनेको समस्याको समाधानका लागि आवश्यक पहलकदमीको जरुरी पर्छ । राज्यले यस्ता विकराल समस्यालाई निराकरण, न्यूनीकरण गर्नका लागि समाजमा जनचेतनात्मक कार्यक्रमलगायतका अन्य आवश्यक गतिविधिहरूमार्फत आफ्नो उपस्थिति जनाउनु आवश्यक छ । आत्महत्याजस्ता गम्भीर कार्यले विकराल रूप लिन नपाओस । समयमै यस समस्याको रोकथामका लागि विशेष ध्यान पु¥याउनु आवश्यक छ ।