खुस्बुलाई ड्रिम एसिया अवार्ड


काठमाडौं/रास– एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले नेपालकी खुस्बु ओलीलाई ड्रिम एसिया अवार्ड २०१७ बाट सम्मान गरेको छ । अवार्ड मलेसियाको क्वालालम्पुरमा प्रदान गरिएको थियो । अवार्ड वितरण कार्यक्रम एएफसी सामाजिक उत्तरदायित्व सम्मेलन २०१८ को अवसरमा प्रदान गरिएको छ । अखिल नेपाल फुटबल संघले खुस्बुको नाम सिफारिस गरेको थियो ।
एएफसी ड्रिम एसिया अवार्ड कर्पाेरेट, गैरसरकारी संस्था र व्यक्तिगततर्फ सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेकालाई दिइन्छ । ओलीलाई व्यक्तिगत विधामा अवार्ड प्रदान गरिएको हो । आश्रय आश्रम नेपालाकी अध्यक्ष ओलीले समाजका लागि उदाहरणीय कार्य गरेको भन्दै अवार्ड प्रदान गरिएको एएफसीले बताएको छ । एफसीका सामाजिक उत्तरदायित्व कमिटीका अध्यक्ष अहमद इद अल हार्वीले अवार्ड प्रदान गरेका थिए । एएफसीले एसियाभरिबाट अवार्डका लागि सम्बन्धित संघसँग मनोनयन आह्वान गरेको थियो । यो अवार्ड प्राप्त गर्ने खुस्बु ओली पहिलो नेपाली हुन् । अवार्डका साथ उनले १० हजार अमेरिकी डलर पुरस्कारस्वरूप प्राप्त गरिन् ।


उनले दिगो विकासका लागि आत्मनिर्भर नमुना गाउँको प्रोजेक्ट डिजाइन गरेकी छन् । यो प्रोजेक्ट यूएनको दिगो विकास लक्ष्यसँग मिल्दो छ । उनले अहिले नेपालको पश्चिमी क्षेत्रमा पाँचवटा यस्ता मोडेल गाउँ विकास गरिरहेको बताइएको छ ।
त्यसैगरी, महिला सशक्तीकरणमा उनले योगदान दिइएको बताइएको छ । खेलकुदमार्फत पुनस्र्थापना गर्ने उद्देश्यले उनले १ हजार सडक बालबालिकालाई फुटबलमार्फत पुनस्र्थापना गरिरहेको बताइएको छ ।