एपीएफलाई उपाधि

राजधानी समाचारदाता/पोखरा।

एपीएफले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा न्यु डायमन्ड एकेडेमीलाई पराजित गर्दै एपीएफले लगातार चौथोपटक उपाधि चुमेको हो । पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको भलिबल कोर्टमा भएको खेलमा एपीएफले पहिलो सेटमा २५–२० जित निकालेको थियो । दोस्रो सेटमा प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनले पुनरागमन गर्दै डायमन्डले २५–१८ को जित निकाले पनि तेस्रो र चौथो सेट २५–१७ र २५–२१ ले गुमाए पछि एपीएफले लगातार चौथोपटक उपाधि जितेको हो । न्यु डायमन्ड पहिलोदेखि तेस्रो संस्करणको उपाधि विजेता टिम हो ।

वर्षाले प्रभाति फाइनल खेलमा एपीएफकी सरस्वती चौधरीले २३ स्कोरको योगदान दिँदा न्यु डायमन्डकी प्रतिभा मालीले ४० अंक जोडेकी थिइन् । न्यु डायमन्डका प्रशिक्षक कुमार राईले वर्षाले खेलाडीहरुले अपेक्षाअनुसार खेल्न नसक्दा हार बेहोरेको बताए ।  विजयी टिम एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले पनि वर्षाले समस्या पारे पनि खेलाडी जित निकाल्न सफल भएको बताए । यस्तै, त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । फाइनलअघि भएको खेलमा चितवन टाइगर्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले  ५ हजार ५ सय नगद प्राप्त गरिन् । यस्तै, डायमन्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स, एपीएफकी हीरा केसी उत्कृष्ट क्विकर, एपीएफकी शशी चौधरी उत्कृष्ट सेटर र आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर घोषित भए । उत्कृष्ट प्रशिक्षक एपीएफका ज्ञानेन्द्र विष्ट घोषित भए । तीज महोत्सवका अवसरमा नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा भएको प्रतियोगिताको विजेता एपीएफले १ लाख, दोस्रो भएको न्यु डायमन्ड एकेडेमीले ६५ हजार रुपैयाँ र तेसो भएको त्रिभुवन आर्मीले २५ हजार पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा दुई विभागीय क्लब एपीएफ र आर्मी गरी ५ टोली सहभागी थिए ।