सफल टेम्पो चालक बनिन् अभिनेत्री स्वस्तिमा

राजधानी समाचारदाता/काठमाडौं।

अभिनेत्री स्वस्तिमा खड्का टेम्पो चालक बन्न सफल भएकी छन् । उनले यसपटक चलचित्र बुलबुलमा महिला टेम्पो चालकको भूमिका निर्वाह गरेकी छन् । यो चलचित्रको छायांकन सकिएको छ । दैनिक काठमाडौंको सडकमा टेम्पो चलाएर यो चलचित्रको छायांकन गर्दा कुनै घटना नभएको यसको निर्माण पक्षले जनाएको छ ।

अभिनेत्री स्वस्तिमाका अनुसार उनले एक महिनाभन्दा बढी समय लगाएर टेम्पो चलाउन सिकिन् । केही दिन टेम्पो चालक भएर टेम्पोमा यात्री पनि ओसारिन् । त्यसपछि उनले चलचित्र बुलबुलमा टेम्पो चालकको भूमिका निर्वाह गरेकी हुन् । फिल्ममा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पो चालक साथीको भूमिका निर्वाह गरेकी छन् ।

निर्देशक बिनोदका अनुसार पर्दामा टेम्पो चालक बन्न स्वस्तिमा सफल भएकी छन् । उनलाई यसपटक बुलबुलमा दर्शकले यो फरक अवतारमा देख्नेछन् । एउटा गीतबाहेक यो चलचित्रको बाँकी छायांकन सम्पन्न भएको छ ।

यो चलचित्रमा स्वस्तिमासँगै बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षत्री, जोयस पाण्डे,  आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ ।

निर्देशक विनोद पौडेलले आफ्नो नयाँ फिल्म ‘बुलबुल’को छायांकन २५ दिनमै पूरा गरेका छन् । साउनको अन्तिम हप्ताबाट छायांकन सुरु भएको यो चलचित्र निर्धारित समयभन्दा निकै चाँडो छायांकन सकिएको निर्देशक पौडेलले बताए, ‘हामीले छायांकनको समय ३५ दिन तय गरेका थियौं । तर, २५ दिनमै छायांकन सक्यौं ।’

अब दशैं र तिहारको बीचमा चलचित्रमा एउटा गीत छायांकन गर्ने योजना उनले सुनाए । त्यो गीतको छायांकन पनि बढीमा दुई दिन लाग्ने उनले बताए ‘आउटडोरमा सेट नै लगाएर खिच्नुपर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन । त्यही कारणले त्यो गीत दसैंतिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं ।’

सुटिङ पूरा भएसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । निर्माता अविरल थापाका अनुसार यो चलचित्रलाई भ्यालेन्टाइन डेको अवसर पारेर आगामी ३ फागुनबाट देशव्यापी प्रदर्शनमा ल्याइने भएको छ । केही बाह्य मुलुकमा प्रिमियर गरेर बल्ल नेपालमा रिलिज गर्ने चाहनाअनुसार फागुनमा प्रदर्शन मिति तय गरेको उनले बताए ।

यो चलचित्रलाई पुरुषोत्तम पाण्डे, अविरल थापा, भीम थापा र राजु पौडलले निर्माण गरेका हुन् । जसमा सुसन प्रजापतिको छायांकन, निर्देशक विनोद पौडेलकै लेखन छ । बुलबुलमा कोशिस क्षत्री र उद्गम परियारको संगीत छ ।