निर्मला हत्याको प्रमाण नष्ट गर्ने प्रहरीलाई किन खुल्ला छोडेको : यज्ञराज पन्त

राजधानी समाचारदाता, काठमाडौ । बलात्कार पछि हत्या गरिएकी १३ वर्षिय बालिका निर्मला पन्तको न्यायका लागि काठमाडौं आएका निर्मलाका बा र आमाले प्रमाण नष्ट गर्न भूमिका खेलेका प्रहरी अधिकारीहरुलाई तत्काल गिरफ्तार गरेर कार्वाही प्रकृया सुरु गर्न माग गरेका छन् ।

बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा निर्मलाका बा यज्ञराजले अपराध लुकाउन खोज्ने प्रहरीहरु खुलेआम हिंडिरहेको भन्दै न्याय पाउनेमा शंका व्यक्त गरेका हुन् ।

निर्मलाका बुवा यज्ञराज पन्तले निर्मलाको बलात्कार र हत्या घटनामा प्रहरीले प्रमाण नष्ट गर्न गरेका गतिविधिहरुको दृष्टान्त पेश गर्दै अहिलेसम्म उनीहरु खुला हिँडिरहेको प्रति आश्चर्य जनाए ।

उनले निर्मला हराएकै दिन विभिन्न प्रहरी चौकीमा खबर गरेपनि प्रहरी नआइदिएको र सालघारी अस्थायी बिटका प्रहरी घटनास्थलमा जान तयार भएपनि एसपी डिल्लीराज विष्टले राकिदिएको बताए । उनले बम दिदीबहिनीको घरमा प्रहरीले समेत आफूहरुलाई भित्र पस्न नदिएको दाबी गरे ।

निर्मलाकी साथी रोशनीसँग बुझ्न खोज्दा प्रहरीले निर्मलाकी आमा र गाउँलेहरुलाई उल्टै हप्काएको पन्तको भनाई थियो । यस्तै, निर्मलाकी आमा दुर्गादेवीले पचासौं दिनसम्म हत्यारा किन पत्ता नलागेको भन्दै आफ्नो पिडाप्रति राज्य गम्भीर नबनेको बताईन् ।
पत्रकार सम्मेलनमा आएका मानवअधिकारकर्मी महिलाहरुले प्रधानमन्त्रीको अभिव्यक्तिले कञ्चनपुरबासीलाई दुःखी बनाएको उल्लेख गरे ।

कञ्चनपुरबाट काठमाडौ आएका निर्मलाका आफन्त र अधिकारकर्मीहरुले न्याय नपाएसम्म अब काठमाडौंबाट फिर्ता नजाने बताएका छन् । उनीहरुले यहाँ राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भेटेर न्यायको अपिल गर्ने र त्यति गर्दा पनि नभए अर्को कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।