निर्मला हत्या प्रकरणः एसपी बाबुछोरा र मेयरका भतिजाको डीएनए परीक्षण सुरु

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा जिल्ला प्रहरी कार्यालयले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण सुरु गरेको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण सुरु गरिएको हो । अस्पतालका फरेन्सिक विज्ञ डा.हरिहर वस्ती नेतृत्वको टोलीले विष्टको डीएनए परीक्षणका लागि रगतको नमूना लिएको बताइएको छ ।

विष्टलाई यसअघि नै प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ । बिष्टसँगै उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुको पनि डीएनए परीक्षण गर्ने तयारी सुरु भएको छ ।

प्रहरीले घटनाका मुख्य आरोपी भन्दै पक्राउ गरेका दिलिपसिंह विष्टको डिएनए परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनी प्रहरी हिरासतबाट छुटेका छन् ।

यस्तै हत्या हुनुअघि निर्मला गएको घरकी रोशनी र बबिता बमलाई पनि प्रहरीले रिहा गरेको थियो । रोशनीलाई हाजिर हुने शर्तमा र बबितालाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो ।

गत साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते उखुबारीमा शब भेटिएको थियो ।