गर्भवती महिलाले खाने सुपमा मुसा भेटिएपछि….

एजेन्सी । एक जना गर्भवती महिलाले आफूले खान लागेको सुपमा मुसा भेटेपछि सामाजिक सञ्जालमा भाइरल बनेको समाचारका कारण एक चिनियाँ कम्पनीको बजार मूल्य १९ करोड डलरले घटेको छ ।

चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्बिर सामाजिक सञ्जालहरूमा फैलिएपछि जायबु जायबु रेस्टुरेन्टको शेयर मूल्य एक वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको हो ।

मरेको मुसा परेको सुप बेच्ने शान्दोङ प्रान्तस्थित रेस्टुरेन्ट भने केही समयका लागि बन्द नै गरिएको छ । मुसा परेको सुप बेच्ने सो रेस्टुरेन्टले ग्राहकलाई ५ हजार युआन क्षतिपूर्ति दिन खोजेको बताइएको छ ।

ती महिलाका पतिलाई उदृत गर्दै एउटा स्थानीय समाचार संस्थाले दिन खोजेको रकम लिन अस्वीकार गरेको जनाएको छ । ‘मा’ नामले चिनाइएका ती व्यक्तिले आफ्नी गर्भवती पत्नीको पूरै शारीरिक परीक्षण गरेपछि मात्रै क्षतिपूर्तिबारे निर्णय गर्न सक्ने बताएका छन् ।

गत सेप्टेम्बर ६ मा उनीहरू सपरिवार सो हट्पट रेस्टुरेन्टमा खाना खान गएका थिए । केही गाँस खाएपछि ती महिलाले आफ्नो खानामा मरेको मुसा भेटेकी हुन् ।

आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे चिन्ता भए गर्भपतन गराउने सल्लाह सो रेस्टुरेन्टका एक कर्मचारीले दिएको र त्यसका लागि २० हजार युआन दिने बताएको पनि ती महिलाका पतिको भनाई छ ।

चिनियाँ सामाजिक सञ्जाल वेइबोमा उसिनिएको सो मुसाको तस्बिर पोस्ट भएपछि हजारौंले घृणा र आक्रोश व्यक्त गरेका थिए । एक जनाले लेखेका छन्, ‘मलाई वाक्क आउला जस्तो हुन्छ । म अब बाहिर कहिल्यै हट्पट खान्नँ ।’

यो घटना सार्वजनिक भएको केही दिनपछि ११ सेप्टेम्बरमा सो कम्पनीको शेयर मूल्य गत वर्ष अक्टोबरपछिको सबभन्दा कम बिन्दुमा पुगेको हो । तर बुधवारदेखि त्यसको बजार मूल्यमा केही सुधार आउन थालेको छ ।

सरसफाइको कमीका कारण मुसा खानेकुरामा पुगेको हुनसक्ने सम्भावना अस्वीकार गर्दै सो रेस्टुरेन्टले शनिवार एउटा सन्देश लेखेको थियो । तर पछि मेटाइएको छ । सुपमा मुसा पाइएको वेइफङ नगरका अधिकारीहरूले जाइबु जाइबु रेस्टुरेन्टबारे छानबिन हुने बताएका छन् ।