व्यापार समस्याः अमेरिकी वार्ता प्रस्तावको चीनद्वारा स्वागत

बेइजिङ । केही महिनादेखि दुई आर्थिक शक्ति राष्ट्र अमेरिका र चीनबीच चुलिएको व्यापारिक विवादकाबीच अमेरिकाले चीनसँग वार्ताका लागि राखेको प्रस्तावको चीनले स्वागत गरेको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीचको विवादले व्यापार युद्धकै रुप लिने अनुमान गरिएका बेला अमेरिकाले वार्ताको प्रस्ताव राखेको हो । महिनौंदेखि चीन र अमेरिकाले एकअर्काविरुद्ध प्रतिशोधस्वरुप करवृद्धिको घोषणा गर्दै आएका छन् ।

तर बुधबार अमेरिकी अर्थमन्त्री स्टीभेन मुन्चिनले व्यापार विवादका विषयमा छलफल गर्न उच्च चिनिया अधिकारीलाई वासिंगटन आउन निमन्त्रणा गरेका हुन् ।

बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चिनिया वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले भने, ‘चिनिया पक्षको के विश्वास छ भने व्यापारिक विवाद बढ्दै गएमा त्यो कुनै पनि पक्षको हितमा हुने छैन ।’

गाओले भने, ‘बेइजिङले अमेरिकाको निमन्त्रणा प्राप्त गरेको साँचो हो र त्यसलाई हामीले स्वागत गरेका छौं ।’ उनले दुबै पक्षले छलफलमा उठाइने खासखास विषयमा कुराकानी अगाडि बढाइसकेको जानकारी पनि दिए ।

चीनमा रहेका अमेरिकी कम्पनीमाथि अमेरिकी करवृद्धिको असर पर्न थालेको समाचार आएसँगै अमेरिकाले वार्ताका लागि आमन्त्रण गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने ५ सय अर्ब अमेरिकी डलर बराबरको आयातमा करवृद्धि गर्ने चेतावनी दिएको एक सातापछि नै अर्थमन्त्री मुन्चिनको नयाँ वार्ता प्रस्ताव आएको छ । वार्ताको प्रस्ताव सार्वजनिक भएलगत्तै एसियाली सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

साताका पूरै ६ दिन ओरालो लागेको हङकङ सेयर बजारमा सुधार आई २.५ प्रतिशत विन्दुले वृद्धि भएको छ भने शाङघाइ सेयर बजारमा एक प्रतिशतले वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो चरणमा करिब ५० अर्ब अमेरिकी डलर बराबरका चिनिया सामानमा करवृद्धिको घोषणा गरिसकेका छन् ।

करवृद्धिको चपेटामा उच्च प्रविधिका पार्टपूर्जा र उत्पादित सामग्री छन् । बेइजिङले समेत प्रतिशोध स्वरुप सोही रकम बराबरको अमेरिकी सोयाबिन, सवारीसाधन र अन्य कृषिजन्य वस्तुमा करवृद्धि गरेको छ ।

ह्वाइट हाउसका वरिष्ठ आर्थिक सल्लाहकार ल्यारी कुड्लोले फक्स न्यूज नेटवर्कसँगको कुराकानीमा भने, ‘अर्थमन्त्री मुन्चिनले निमन्त्रणा दिनु भएको छ । संवादहीन हुनुको साटो कुराकानी गर्नु नै राम्रो हो । त्यसैले यो मलाई राम्रै लागेको छ ।’

अमेरिकी राष्ट्रपतिले थप २ सय अर्ब डलर बराबरका चिनिया सामानमा २५ प्रतिशत करवृद्धि गर्ने चेतावनी दिइरहेको अवस्थामा दुई देशका अधिकारीबीच हुने वार्तामा यस विषयले पनि प्राथमिकता पाउने सम्भावना छ ।

अमेरिकाले करवृद्धिको घोषणा गरे बेइजिङले पनि करिब ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा २५ प्रतिशत करवृद्धि गर्ने चेतावनी यसअघि नै दिइसकेको छ । दुबै देशका व्यवसायीले वासिङटनलाई करवृद्धिका सम्बन्धमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् ।

आधाभन्दा बढी अमेरिकी कम्पनीले व्यापारिक विवाद बढ्दै गएपछि पछिल्ला दिनमा अमेरिकी कम्पनीमाथि कडा नियमन गर्ने, निरीक्षण गर्ने तथा भन्सारमा विलम्ब गर्नेजस्ता दुःख दिन थालेको एक सर्भेक्षणमा देखिएको छ ।