निर्मला हत्याकाण्ड: अनुसन्धान प्रहरीतिरै सोझियो

महेश्वर गौतम/काठमाडौं।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४९ दिन बित्दा शंकास्पद भूमिका रहेको भनिएका प्रहरी अधिकारीतर्फ नै अनुसन्धान मोडिएको छ ।
यसअघि मुख्य अभियुक्त मानिएका दिलीपसिंह विष्टको डीएनए परीक्षण गर्दा घटनामा संलग्नता नदेखिएपछि प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण गरेको हो ।
निर्मला हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन तत्कालीन समयमा कञ्चनपुरमा प्रहरी प्रमुख रहेका निलम्बित एसपी विष्टतर्फ नै अनुसन्धान मोड्न दबाब बढ्दै आएको थियो ।

विष्टसहित अन्य दुई जनाको ब्लक नमुना संकलन गरेर डीएनए परीक्षण सुरु गरेको हो । विष्टका छोरा किरण विष्ट र अर्का भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको पनि डीएनए नमुना संकलन गरिएको छ । नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्तीसहितको टोलीले निलम्बित एसपी विष्ट, उनका छोरा किरण तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुषको डीएनए परीक्षण सुरु गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाले डीएनए परीक्षणका लागि ब्ल्क संकलन गरिएको बताए । ‘हामीले निलम्बित एसपी विष्टसहित उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षणका लागि ब्ल्क स्याम्पल लिएका छौं,’ प्रहरी प्रवक्ता थापाले राजधानीसँग भने ।
निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमुना परीक्षण गर्दा शुक्रकिटको अवशेष भेटिएको थियो ।
यसअघि मुख्य अभियुक्त मानिएका दिलीपसिंह विष्ट दोषी नदेखिएपछि मंगलबार नै छुटिसकेका छन् । उनी सामान्य तारेखमा रिहा भएका थिए ।

यस्तै, उनीसँगै घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका रोसनी बम र बबिता बम पनि रिहा भइसकेका छन् । रोशनी सामान्य तारेखमा तथा बबितालाई ३० हजार रुपैयाँ धरौटी राखेर छाडिएको थियो ।
शंकास्पद मानिएका तीनै जनाको घटनामा संलग्नता नदेखिएपछि प्रहरीले आन्तरिक रूपमा अनुसन्धान थाल्ने बताएको थियो ।
निर्मलाका बाबुआमा न्यायका लागि भन्दै हाल काठमाडौं आएका छन् । उनीहरूसहित आफन्तले निलम्बित एसपी विष्ट, उनका छोरा तथा नगरप्रमुखका भतिजाको पनि डीएनए परीक्षण हुनुपर्ने माग राख्दै आएका थिए । घटना भएको ४९ दिन बित्दासमेत प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाउन सकेको छैन ।