नेकपा एकता टुंगो नलाग्दै सकियो सचिवालय बैठक

राजधानी समाचारदाता/काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टीको तल्ला कमिटीको एकता टुंगो नलगाउँदै सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा दुई दिन देखी जारी बैठक एकताको टुंगो नलाग्दै बिहिबार सम्पन्न भएको छ । बैठकमा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेताहरुले पार्टी एकतामा एकलौटी गर्न खोजिए पछि मापदण्ड निर्माण गरेर टुंगो लगाउँने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देखिएको बिबाद समाधान गर्दै मापदण्ड बनाउँने जिम्मेवारी पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिईएको बताए । दुबै नेताले मापदण्ड निर्माण गर्ने र अन्तिम टुंगो अगामी स्थायी कमिटी बैठकमा छलफल गरिने बताईएको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा गत ३ जेठमा एकिकरण भए पनि तल्ला कमिटीका साथै जनवर्गीय संगठनहरुको एकता अझै हुन सकेको छैन् । एकता घोषणा सभामा तीन महिना भित्रमा सबै कमिटीको टुंगो लगाउँने उदघोष शिर्ष नेताहरुले गरेका थिए ।

पार्टी सचिवालयले यस अघि नै बिभिन्न कार्यदलहरु गठन गर्दै पार्टीको प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकताका लागि प्रतिबेदन तयार गर्न जिम्मेवारी दिएको थियो । कार्यदलले पार्टी महासचिव बिष्णु पौडेललाई प्रतिबेदन बुझाइ पछि सो प्रतिबेदन बैठकमा प्रस्तुत गरिएको छ ।

तर ति प्रतिबेदनहरुमा असहमती जनाउँदै पार्टीका वरिष्ठ नेताद्धय नेपाल र खनाल सहितका नेताले सच्याउँन दबाब दिएपछि एकता टुंगो नलाग्दै बैठक सम्पन्न भएको छ । प्राप्त प्रतिबेदनको अध्ययन गर्दै मापदण्ड बनाएर एकिकरण गर्ने र त्यसलाई पार्टी स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रदेश, जिल्ला, जनसंगठनहरुको एकताका लागि गठन भएको कार्यदलले दिएको प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ देखिएकाले सो समस्या समाधानका लागि मापदण्ड बनाउँनुपर्ने माग पार्टीमा उठदै आएको छ ।