संविधान दिवसमा विरोधसभा गर्ने राजपाको तयारी, जिल्लाजिल्लामा शीर्ष नेतासहित मन्त्री परिचालन

सुभाष साह/काठमाडौं।

सरकारले ३ असोजमा संविधान दिवस मनाउने भव्य तयारी गरिरहेका बेला राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) भने  विरोधसभाका लागि जुटेको छ । संविधान दिवसकै दिन विरोधसभा गर्न उक्त पार्टीले अध्यक्ष मण्डलका नेता एवं प्रदेश २ का मन्त्रीहरूलाई विभिन्न जिल्लामा परिचालन गर्ने निर्णय गरेको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलको बिहीबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको बैठकले ३ असोजमा विरोधसभा गर्ने र त्यसमा अध्यक्ष मण्डलका सदस्यसहित प्रदेश २ का मन्त्रीलाई सम्बोधन एवं तयारीका लागि परिचालन गर्ने निर्णय गरेको हो ।

३ असोजमा सबै जिल्लामा दिउँसो विरोध प्रदर्शनका साथै विरोधसभा गर्ने, सोही दिन साँझ ७ देखि सवा ७ बजेसम्म ब्ल्याक आउट (बत्ती निभाउने) लगायतका विरोध कार्यक्रम गर्न राजपाले जिल्ला कमिटीलाई विशेष निर्देशन दिँदै त्यसको तयारीमा जुटन सर्कुलरसमेत जारी गरेको छ । यसका साथै जिल्लाले विरोधका थप कार्यक्रम आफैं तय गरेर कार्यान्वयन गर्न सक्ने राजपा नेपालको आन्तरिक तयारी छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले संविधान संशोधन, मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा फिर्ता, सांसद रेशम चौधरीको रिहाइलगायत माग सम्बोधनका लागि विरोध कार्यक्रम गर्न लागिएको बताए ।

‘हामीले पटकपटक आन्दोलनका साथै माग सम्बोधनका लागि सरकारलाई आग्रह गर्दा समेत सुनुवाइ नभएपछि आन्दोलनकै रूपमा विरोधका कार्यक्रम गर्न बाध्य भयौं,’ झाले भने, ‘यो पनि हाम्रो आन्दोलनकै अर्को रूप हो, हामी अझै भनिरहेका छौं, संविधानका त्रुटि सच्याउँदै अन्य माग पनि सम्बोधन गरौं ।’

माग सुनुवाइ नभएपछि बाध्य भई विरोधका कार्यक्रम गर्न लागिएको उनले प्रस्ट पारे । कार्यक्रमका लागि केन्द्रबाट शीर्ष नेताका साथै प्रदेश २ का मन्त्रीहरूलाई विशेष जिम्मेवारी दिएर जिल्लाजिल्लामा परिचालन गर्ने निर्णय भएको नेता झाले बताए ।

कार्यक्रमका तयारी, प्रदर्शन तथा विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बारा र पर्सा पुग्नेछन् । अध्यक्ष मण्डलका सदस्यद्वय राजेन्द्र महतो र अनिलकुमार झा बाँके र बर्दिया तथा कैलाली र कञ्चनपुरमा पुग्नेछन् ।

यसैगरी, अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव नवलपरासी, रुपन्देही र कपिलवस्तुमा, अर्का नेता शरतसिंह भण्डारी झापामा, नेता राजकिशोर यादव मोरङ र सुनसरीमा पुग्ने कार्यक्रम तय गरिएको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले प्रदेश २ का मन्त्रीहरूलाई पनि जिल्लामा परिचालन गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल सप्तरी, उद्योग, पर्यटन, वन, पर्यावरण तथा संस्कृतिमन्त्री रामनरेश राय सिरहा, सामाजिक विकास मन्त्री नवलकिशोर साह धनुषा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा महोत्तरी, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सर्लाही र उद्योग, पर्यटन, वन, पर्यावरण तथा संस्कृति राज्यमन्त्री सुरेश मण्डललाई रौतहटमा परिचालन गरिने पार्टीले निर्णय गरेको छ ।

सरकारले संविधान दिवस मनाउँदै गर्दा राजपा नेपालका शीर्ष नेता, मन्त्री एवं निर्वाचित स्थानीय तहका प्रमुखहरूसहित भव्य रूपमा विरोधसभा गरिने राजपा नेपालका महासचिव अजय गुप्ताले बताए । यसैगरी, बैठकले पार्टीको विधान २०७४ लाई संशोधन गर्दै महाधिवेशनको तयारीमा जुटेको छ । ७, ८ र ९ वैशाख २०७६ मा पार्टीको पहिलो एकता महाधिवेशन गर्ने निर्णय पार्टीले गरिसकेको छ ।

पार्टीको विधान संशोधन गर्दै नयाँ साधारण सदस्यता वितरण एवं नवीकरण र सक्रिय सदस्यताको फाराम भर्न आउँदो मंसिरसम्ममा सकिन पार्टीले तल्लो कमिटीलाई निर्देशन गरेको छ । यसैगरी, वितरित र नवीकरण गरिएका साधारण सदस्यताको अधकट्टीसहितको सूची र सक्रिय सदस्यता फारामसहितको ५ मंसिरसम्म पार्टी केन्द्रीय कार्यालयमा बुझाउन बैठकले निर्णय गरेको छ ।

पार्टीसम्बद्ध १० असोजसम्ममा वर्गीय संगठनको केन्द्रीय नेतृत्वको बैठक गरी समायोजन सम्पन्न गर्नसमेत तयारी गरेको छ । ७ वैशाख २०७४ मा विभिन्न ६ पार्टी बीचमा एकीकरण भई राजपा नेपालको घोषणा गरिए पनि वर्गीय संगठनको एकता अझै हुन सकेको छैन ।

बैठकले विविध कारणवश राजपा नेपालबाट अलग भएका वा रहेका नेताकार्यकर्तालाई राजपामा फर्किन आह्वान गरेको छ । साथै, अधिकार प्राप्तिको संघर्षमा योगदान दिन चाहनेलाई पार्टीमा आबद्ध हुन सार्वजनिक अपिलसमेत बैठकले गरेको छ ।

त्यस्तै, बैठकले राजपा नेपाल प्रदेश २ को प्रदेशसभा, संसदीय दलको विधान २०७५ परिमार्जनसहित स्वीकृत पनि गरेको छ ।