कारको ठक्करबाट ९ जनाको मृत्यु

बेइजिङ/एजेन्सी– चीनको दक्षिणी हुनान प्रान्तको हेंगषंग सहरको एक व्यस्त सडकको किनारामा एक व्यक्तिले आफ्नो कारले ठक्कर दिएर कम्तिमा पनि ९ जनाको हत्या गरेका छन् । सो घटनामा अन्य ४३ जना घाइते भएको बताइएको छ ।

स्थानीय मिडियाका अनुसार स्थानीय समयअनुसार साझ ७ बजेर ४० मिनेटमा बिनजियांग चोकमा रातो रंगको एसयुवी कारले केही मानिसलाई ठक्कर दिएको थियो । केही समाचारमा आक्रमणकारी व्यक्तिले चक्कु प्रहार समेत गरेका बताइएको छ ।

अधिकारीहरुले आक्रमणमा संलग्न व्यक्ति आपराधिक पृष्ठभूमिका भएको र उनलाई पक्राउ गरिएको जनाएका छन् । अधिकारीहरुले यो घटना आतंकवादसँग सम्बन्धित भए नभएको बारे केही बताएका छैनन् । कार ठोक्काएर आक्रमण सुरु भएपछि त्यहाँका मानिसहरुबीच भागदौड मच्चिएको थियो । प्रहरीले आक्रमणकारी ५४ वर्षीया यांग जनयुन रहेको जनाएको छ ।