हिन्दू मन्दिरमा पशु बलिमाथि प्रतिबन्ध

कोलम्बो/एजेन्सी– श्रीलंका सरकारले हिन्दू मन्दिरहरुमा पशुपक्षीको बलि दिन रोक लगाउने भएको छ । सरकारका प्रवक्ताले हिन्दू धार्मिक मामला मन्त्रालयले पशुबलिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको र सो प्रस्तावलाई धेरैजसो उदारवादी समूहले समर्थन गरेको जनाएका छन् ।

हिन्दू समुदायका मानिसहरुले देवी देवतालाई खुसी पार्न भन्दै मन्दिरमा बोका, राँगा र कुखुरालगायतको बलि दिदैँ आएका छन् । तर, श्रीलंकाका बहुसंख्यक बौद्ध समुदायले यसको विरोध गर्दै आएका छन् । आलोचकहरुले बलि दिनु अमानवीय भएको बताउँदै आएका छन् ।

हिन्दूका अलावा मुस्लिम धर्मावलम्बीले पनि आफ्नो धार्मिक कार्यमा पशुको बलि दिने गर्छन् । पशु अधिकारको क्षेत्रमा काम गर्ने र बौद्ध धर्म मान्ने समूह यो कार्यबाट रुष्ट रहँदै आएको छ ।

यद्यपि सबै हिन्दूले पशु बलि दिँदैनन् । तर, बलि दिने हिन्दूहरुले यो प्रतिबन्धले आफूहरुको धार्मिक स्वतन्त्रतामाथि प्रहार भएको टिप्पणी गर्दै आएका छन् । उनीहरुले यो आफूहरुको आस्थाको विषय भएको र प्राचीनकालदेखि चल्दै आएकाले यसलाई जारी राख्नुपर्ने बताउँदै आएका छन् ।

श्रीलंकाका मन्दिरमा बलिमाथि रोक लगाउने यो कानुनको दायरामा त्यहाँको तेस्रो ठूलो जनसंख्या भएको मुस्लिम समुदाय भने प्रभावित हुनेछैन । श्रीलंकामा पछिल्ला वर्षमा धार्मिक विषयलाई लिएर धेरै हिंसा भए । मार्चमा मुस्लिमविरोधी हिंसामा तीन जनाको मृत्यु भएको थियो भने ४५० घर र पसलमा क्षति पुगेको थियो । श्रीलंकाको कुल जनसंख्याको १२ प्रतिशत हिन्दूहरूको रहेको छ ।