आर्थिक सुधारबारे छलफल गर्न मादुरो चीनमा

बेइजिङ/एजेन्सी– भेनेजुएलामा देखिएको आर्थिक संकटबाट देशलाई माथि उठाउने प्रयासस्वरुप राष्ट्रपति निकोलास मादुरो बिहीबार चारदिन लामो चीन भ्रमणमा निस्किएका छन् । भेनेजुयलाको सबैभन्दा ठूलो ऋणदाता चीनमा रहँदा मादुरोले भेनेजुयलाको आर्थिक तथा राजनीतिक संकटलाई पार लगाउने बिषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङलगायतका उच्च पदस्थ अधिकारीसँग कुराकानी गर्ने बताइएको छ ।

राजधानी कराकसबाट चीन प्रस्थान गर्नुअघि मादुरोले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘भ्रमण अत्यन्तै आवश्यक, समयोचित र धेरै अपेक्षाकासाथ गर्न लागिएको छ ।’ बुधबार एक टेलिभिजन सम्बोधनमा उनले भने, ‘आर्थिक सुधारका कार्यक्रमपछि अहिले हामी केही सहज अवस्थामा रहेका छौं । हाम्रो आगामी यात्रा आर्थिक विकास र समृद्धिका लागि हुनेछ । हामी विश्वका शक्तिराष्ट्रसँगको सम्बन्ध विस्तार गर्ने तथा प्रगाढ बढाउनेतर्फ लागिपरेका छौं ।’

माडुरो आइतबारसम्म चीनमा रहनेछन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार मादुरोलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले एक कार्यक्रमबीच स्वागत गर्नेछन् । नियमित पत्रकार सम्मेलनमा भेनेजुयलाका राष्ट्रपतिको भ्रमणबारे गरिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता सुवाङले भने, ‘भेनेजुयली राष्ट्रपतिको यो भ्रमणले दुई देशबीचको आपसी विश्वास बढाउनुका साथै आपसी फाइदा तथा मित्रवत सहकार्यलाई बलियो बनाउनेमा सफल हुनेछ ।’

सामाजिक प्रतिक्रियाका आधारमा पछिल्लो सरकारले आर्थिक तथा वित्तीय सुधारका कार्यक्रमलाई प्रोत्साहित गरेको उनले बताए । उनले भने, ‘मलाई लाग्छ भेनेजुयलाको स्थायी विकास सबै सम्बद्ध पक्षको हितका लागि हुनेछ ।’

ओपेक सदस्य राष्ट्र भेनेजुयलालाई चीनले विगत एक दशकमा ५० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएको थियो । जसम्ध्ये पेट्रोलियम पदार्थ आपूर्तिमार्फत ल्याटिन अमेरिकी राष्ट्र भेनेजुयलाले ३० अर्ब अमेरिकी डलर फिर्ता गरेको छ भने अझै २० अर्ब अमेरिकी डलर ऋण तिर्न बाँकी छ ।

मादुरोको चीन भ्रमणमा थप ५ अर्ब ऋण थप्ने र पूरानो ऋणको म्याद आगामी ६ महिना बढाउने कार्यक्रम रहेको भेनेजुयली संस्था इकोनालिटिकाले जनाएको छ । यसै साता चीनको भ्रमण गरेका भेनेजुयली उपराष्ट्रपति डेल्सी रोड्रिगेजले चाइना डेभलपमेन्ट बैंकका अधिकारीसँग पनि यसै बिषयमा भेट गरेका थिए ।