पत्रकारमाथि जेल सजायको सुकीद्वारा प्रतिरक्षा

हनोई/एजेन्सी– नोबेल शान्ति पुरस्कार विजेता म्यान्मारकी राज्य सल्लाहकार आङ सान सुकीले बेलायती समाचार समिति रोयटर्ससँग आबद्ध दुई जना पत्रकारलाई त्यहाँको एक अदालतले जेल सजायको फैसला गरेको घटनाको प्रतिरक्षा गरेकी छन् ।

विश्वभरबाट पत्रकारमाथि भएको जेल सजायको आलोचना भइरहेका बेला सुकीले म्यानमार स्वतन्त्र प्रेसको पक्षमा रहेको दाबी गरेकी हुन् । नेतृ सुकीले अल्पसंख्यक मुसलमान समुदाय रोहिंग्यामाथि भएको सैनिक कारबाहीलाई अझ राम्रोसँग व्यवस्थापन गर्न सकिने निष्कर्षमा म्यानमार पुगेको पनि उल्लेख गरिन् ।

उनले पक्राउ परेका दुई जना पत्रकारद्वयमाथि पूर्वाग्रह राखेर र नियोजित कारबाही नगरिएको बताइन् । नेतृ सुकीले भनिन्, ‘पत्रकार भएकै कारण उनीहरु जेलमा परेका होइनन्, उनीहरुले सरकारी गोपनीयता ऐनलाई भंग गरेका कारण अदालतले दोषी ठहर गरेको हो ।’

म्यानमारको रखाइन राज्यमा रोहिंग्या मुलमानविरुद्ध भएको सैनिक दमनको समाचार संकलन गर्दा सरकारी गोपनीयता कानुन उल्लंघन गरेको आरोपमा ३२ वर्षीय वा लोन र २८ वर्षीया क्या सोए ओेलाई गत साता ७÷७ वर्षको जेल सजाय सुनाइएको थियो । बेलायती समाचार संस्था रोयटर्ससँग आबद्ध यी दुई जना पत्रकारलाई जेल सजाय सुनाएकोमा विश्वभरीबाट आलोचना भएको छ ।

संयुक्त राष्ट्रसंघलगायत विश्व समूदायले यसलाई स्वतन्त्र पे्रसको अभिव्यक्तिमाथि हमला भएको संज्ञा दिएका छन् । पत्रकारलाई दिइएको सजायको विषयमा सुकीले अत्यन्त चलाखीपूर्वक बचाउ गरेकी हुन् । त्यसो त सुकीले रोहिंग्या मुस्लिममाथि दमनमा उत्रिएको सेनाको समेत बचाउ गरेपछि उनको आलोचना हुँदै आएको छ ।

कतिपयले उनलाई दिएको नोबेल पुरस्कार नै फिर्ता गर्नुपर्ने अभिव्यक्ति समेत दिएका थिए । रोयटर्समा आबद्ध दुई पत्रकारलाई दिइएको जेल सजायको युरोपियन युनियन र अमेरिकालगायत विश्वजगतले नै आलोचना गरिरहेको छ भने राष्ट्र संघलगायत विश्वका कैयौं मानवअधिकार संघसंस्थाले उनीहरुको रिहाइको माग गरेका छन् ।

म्यानमारको सैनिक सरकारले करिब दुई दशकसम्म घरमै नजरबन्दका राखेकी प्रजातन्त्रवादी नेतृ आङसान सुकी केही वर्षअघि मात्र स्वतन्त्र हुनु भई राज्य सल्लाहकारको रुपमा रहेकी छन् । पत्रकारलाई जेल सजाय गरिएको विषयमा उनको मौनताको विषयमा विश्वभर आलोचना भइरहँदा उनको पछिल्लो भनाई आएको हो ।