पटके सवारी कर स्थगित

राजधानी संवाददाता/पर्वत ।

कुश्मा नगरपालिकाले लगाएको सवारी पटके कर व्यवसायीको विरोधपछि स्थगित भएको छ । यसअघि नगरपालिकाले कुश्माको दोविल्लाबाट दक्षिणी क्षेत्रमा जाने सवारीसाधनका लागि पटके सवारी कर लगाउने गरी टेन्डर आह्वान  गरेको थियो । दुईपटकसम्म २० लाखमा टेन्डर आह्वान गरेको कुश्मा नगरपालिकाले सो रकममा कसैले पनि टेन्डर  नहालेपछि ११ लाख रुपैयाँमा पञ्चासे सिद्धबाराहा निर्माण सेवालाई कर उठाउने जिम्मा दिएको थियो ।

कुश्मा नगरपालिकाले टेन्डर उठाउने जिम्मा दिएको केही दिनमै फलेवास नगरपालिकाले समेत आफ्नो क्षेत्रमा कर उठाउन थालेपछि व्यवसायी विरोधमा उत्रिएका थिए । व्यवसायीले एउटै सडकखण्डमा दुई ठाउँमा कर नतिर्ने भन्दै विरोध गरे लगतै कुश्मा नगरपालिकाले कर नउठाउने निर्णय गरेको कुश्मा नगरपालिका राजस्व शाखाका कर्मचारी टेकप्रसाद सुवेदीले जानकारी दिए । नगरपालिकाको राजस्व निर्धारण समितिको बैठकले व्यवसायीलाई दोहोरो मार परेको भन्दै कर उठाउने निर्णय स्थगित गरेको उनको भनाइ छ ।

नगरपाकिलाले २२ जेठमा नै पत्र  लेखेर कर उठाउने जिम्मा पाएको निर्माण कम्पनीलाई कर नउठाउन आदेश दिइसकेको छ । उता, कम्पनीले २५ जेठसम्म पनि कर लिएको व्यवसायीको आरोप छ । नगरपालिकाले औपचारिक रूपमा कर लिने कार्य स्थगित गर्दै अन्तर पालिका समन्वयमा मात्र कर उठाउने कार्य अगाडि बढाउने जनाएको छ । यसअघि नगर प्रमुख जोशीले जनताको इच्छाविपरीतका कुनै पनि कर नलगाइएको स्पष्ट पार्दै आएका थिए । उनले जनतालाई मार नपर्ने गरी करकादायरा निर्धारण गरिने र जनता आफैंले कर बढी भएको विरोध गरेमा त्यसलाई पुनर्विचार गर्न सकिने बताए ।