उपभोक्ता संरक्षण ऐन संशोधन गरिने

राजधानी समाचारदाता/काठमाडौं ।

उपभोक्ता संरक्षण ऐनले व्यवसायीलाई समस्या परेको भए सरकार त्यसको संशोधन गर्न तयार भएको वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।

बिहीबार उद्योग वाणिज्य महासंघमा आयोजित उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ का विषयमा छलफल कार्यक्रममा उनले यस्तो बताए हुन् । सो ऐनले उद्योग र व्यापारीलाई कुनै ठाउँमा समस्या  भएमा संशोधन गर्न आफू तयार भएको तर व्यापारीले उपभोक्तामाथि मनपरि गर्न नमिल्ने उनको आशय थियो ।

उनले कुनै पनि वस्तु बजारमा ल्याउँदा गुणस्तर हुनुपर्ने बताए । कुनै पनि व्यवसायीले उपभोक्ताको जीवनमा खेलवाड गर्न नहुने आशय व्यक्त गरे । कुनै उद्योगीले उपभोक्तालाई गुणस्तरहीन वस्तु वा सामान बिक्री गरेको पाइएमा सबैलाई कारबाही गर्ने उनको भनाइ थियो ।

उपभोक्ता संरक्षण ऐनले उद्योग व्यापारीलाई समस्या पारेको भए संशोधन गर्न सरकार  तयार भए पनि व्यापारीले उपभोक्तामाथि मनपरी गर्न नमिल्ने वाणिज्य मन्त्रीको जिकिर

 

उद्योगीलाई गल्ती नगरे सो ऐनसँग डराउनुपर्ने कुनै पनि कारण नभएको उनको भनाइ थियो । नेपालको संविधानको त संशोधन गर्न मिल्छ  भने सो ऐनले उद्योगीलाई सारै समस्या पार्ने भए ऐन संशोधन गर्न  मिल्ने उनको भनाइ थियो । कार्यक्रमा मन्त्री यादवले उद्योग व्यवसायीलाई आफ्नो र देशको शिर ठाडो हुने गरी उद्यमी बन्न आग्रह गरे ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले डलरको भाउ बढ्दै गएकाले व्यापार घाटा काम गर्न चुनौती भएको बताइन् । कच्चा पदार्थ जडिबुटीलगायतका कच्चा पदार्थ निर्यात गरेर व्यापार घाटा कम गर्न पनि उनले आग्रह गरिन् । तर व्यवसायीले भने सबै सामानको सूची देखाएर व्यापार गर्नुपर्नेमा व्यापारीले सो नियम मान्न नसक्ने आशय राखेका छन्  ।

सो अवसरमा उद्योग वाणिज्य महासंघको उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यापारी कर्मचारीको गल्तीले व्यापार घाटा भए त्यसको क्षतिपूर्ति दिनुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्ने बताए ।