आक्रामक तयारीमा च्यासल

राजधानी समाचारदाता/काठमाडौं ।
ललितपुरको च्यासल युथ क्लब पहिलोपटक शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने अवसरलाई ऐतिहासिक बनाउने योजनामा छ । असोजमा हुने ‘ए’ डिभिजन लिगका लागि क्लबको तयारी आक्रमक रूपमा भइरहेको छ । जसले गर्दा उसको लिग जित्ने लक्ष्यलाई महŒवाकांक्षी भनिहाल्नुपर्ने अवस्था देखिँदैन । २०७३ सालमा ‘बी’ डिभिजन लिगको उपाधि जितेर ‘ए’ मा उक्लिएको च्यासलले दुई वर्षपछि मात्र ‘ए’ डिभिजन लिग खेल्न लागेको छ । २०७४ सालमा अखिल नेपाल फुटबल संघले लिग गराएन ।
क्लबका अध्यक्ष रमेश व्यञ्जनकार पहिलो च्यासल सहभागितामा नै च्याम्पियन बन्ने तयारीमा रहेको दाबी गर्दछन् । ‘पुरानो क्लब भए पनि धेरै पछि हामीले ‘ए’ डिभिजन खेल्ने अवसर पाएका छौं, यसलाई ऐतिहासिक बनाउँदै च्याम्पियन बन्ने लक्ष्यका साथ गृहकार्य गरिरहेका छौं,’ उनले भने ।


क्लबले चर्चित पूर्वराष्ट्रिय खेलाडी तथा अनुभवी प्रशिक्षक राजुकाजी शाक्यलाई आबद्ध गरी खेलाडीलाई क्लबमा भिœयाउन सुरु गरेको व्यञ्जनकारले बताए । ‘शाक्यसँग हामीले एक वर्षका लागि सम्झौता गरेका छौं, उहाँ पनि च्यासललाई उत्कृष्ट बनाउनका लागि खटिरहनुभएको छ, हामी नयाँ इतिहास बनाउन चाहन्छौं,’ उनले भने ।
क्लबले हेमन्त थापामगर, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, गौरव बुढाथोकी, दिनेश थापा मगर, अमिर श्रेष्ठ, विश्व अधिकारी, योगेश गुरुङलगायतलाई क्लबमा समावेश गरिसकेको छ । ‘हामीले उत्कृष्ट खेलाडीलाई समावेश गर्दै छौं त्यसैगरी तीन जना विदेशी खेलाडी पनि ल्याउँदै छौं,’ उनले भने, ‘लिगका लागि हामीले १ करोड ३० लाख बजेट छुट्याएका छौं ।’
भ्याली कन्स्ट्रक्सन प्रालिसँग क्लबले मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको छ । भ्यालीले च्यासल क्लबको मेहेनत र लिग जित्ने तयारीलाई साथ दिएको बताएको छ ।

त्यसैगरी, सम्झना ल्याबोरेटरी सहप्रयोजकका रूपमा रहेको छ ।
त्यसैगरी, च्यासल क्लबलाई स्थानीयको पनि साथ र समर्थन रहने देखिन्छ । २०३७ सालमा स्थापना भएको क्लबले पहिलो ‘ए’ डिभिजन लिगको सहभागिता स्मरणीय बनाउने मात्र होइन लिगको इतिहासमा नयाँ अनुभूति पनि दिने दाबी गरेको छ ।
संस्थापक अध्यक्ष रामकृष्ण व्यञ्जनकारले च्यासललाई ‘ए’ डिभिजन लिगमा उकाल्ने सपना देखेका थिए । उनको सपना पूरा भएको छ । ‘उहाँले क्लबलाई यहाँसम्म ल्याउनुभयो, हाम्रो काँधमा यसलाई दु्रत गतिमा आधुनिक रूपमा अगाडि बढाउने जिम्मेवारी आएको छ,’ रमेश व्यञ्जनकारले भने ।

च्यासल क्लबको आफ्नै मैदान छ । त्यो मैदान उसको आम्दानीको स्रोत पनि हो । ‘खेलाडीलाई राख्न, प्रशिक्षण गराउनका लागि च्यासललाई कुनै चिन्ता छैन,’ रमेश बताउँछन्, ‘यसपटक लिग जित्नु मात्र उद्देश्य होइन, अब क्लबलाई दीर्घकालीन रूपमा बलियो बनाएर उत्कृष्ट र नमुना क्लबका रूपमा विकसित गर्नु पनि हो ।’
नमुना क्लब बनाउनका लागि क्लबले केही कामको थालनी पनि गरिसकेको छ । क्लबले आफ्नै लोगो भएको बल बनाएको छ । पाकिस्तानमा अर्डर गरेर तयार गरिएको क्लबको आफ्नै बल बनाउने सम्भवतः च्यासल नै पहिलो क्लब हुनुपर्छ । ‘क्लबका फ्यानका लागि यो खुसीको कुरा पनि हो,’ उनले भने ।
त्यसैगरी, क्लबले फ्यानलाई समेत लक्षित गरेर जर्सी तयार गरेको छ । ‘लिगमा च्यासलको खेल हुँदाको रौनक साच्चै हेर्नलायक हुनेछ,’ रमेश दाबी गर्छन् ।

ए डिभिजन लिग

क्लबलाई व्यावसायिक रूपमा अगाडि बढाउनका लागि उत्कृष्ट जनशक्तिको आवश्यक पर्दछ । त्यसका लागि आपूmहरूको तयारी रहेको उनले बताए । ‘हामी व्यवस्थापक राखेर क्लबलाई व्यवस्थित बनाएर अगाडि बढ्छौं, ट्रेनिङको रेकर्ड मेन्टेन गर्ने, फ्यान क्लब बनाउने, व्यवस्थित वेबसाइट तयार गर्ने कार्यलाई पनि सँगसँगै अगाडि बढाउँदै छौं,’ उनले भने ।
६६ सालमा ‘बी’ डिभिजनमा उक्लिएको क्लबले ‘ए’ डिभिजनमा बढुवा हुनका लागि करिब नौ वर्ष कुर्नुपरेको थियो । ‘अब क्लब यति धेरै धैर्य गर्ने पक्षमा छैन । त्यसैले, त पहिलो सहभागितामै च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरिरहेका छौं,’ अध्यक्ष रमेश बताउँछन् ।
स्थानीय फ्यानबाट पनि क्लबले ठूलो समर्थन पाउने विश्वास व्यक्त गर्दछन् क्लबका सचिव शंकर व्यञ्जनकार ।
पहिलो पटक ‘ए’ डिभिजन खेल्ने तयारीमा रहेको च्यासल युथ क्लबले त्यसको तयारीका लागि भारतको गोहाटीमा एक गोल्डकपमा सहभागिता जनाउँदै छ । त्यसका लागि क्लबका खेलाडी तथा अफिसियल शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छन् । ‘प्रतियोगिता १८ सेप्टेम्बरबाट हुनेछ, त्यहाँका उत्कृष्ट टिमसँग खेल्न पाउने अवसरलाई हामीले लिग अगाडि सदुपयोग गर्न लागेका हौं,’ क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले भने ।