चौठचन्द पर्व सम्पन्न

राजधानी संवाददाता/जनकपुरधाम।

मिथिलाञ्चलको प्रमुख पर्व चौठचन्द्र बुधवार राती जनकपुर क्षेत्रमा सम्पन्न भएको छ ।  राती घरघरमा भगवान गणेश र चन्द्रमाको विशेष पूजा गरिएकोे छ । चौठचन्द्र पर्वका दिन व्रत बस्ने पनि मिथिलाञ्चलमा चलन रहेको छ । पूजामा विशेष परिकार बनाउने चलन रहेको जनकपुर–४ का जयमंगला देवी झाले बताइन् । सो पर्वमा घर घरमा पूजा गरिएको छ ।

प्रसादीको रुपमा पिरकिया, खजुर, खाजा, पुरी, खिर घरघरमा बनाइने चलन रहेको छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाका पूजा गरिने गरिन्छ । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यता अनुसार चौठचन्द्रपर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाइ गाजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा रहेको छ ।  दिनमा प्रसादी बनाउने र बेलुका पूजा गर्ने परम्परा रहेको छ । यो पर्वको प्रारम्भ मिथिलाञ्चलका तत्कालीन नरेश हेमांगद ठाकुरले गरेका थिए । उनलाई ज्योतिषको रुपमा पनि चिनिन्थ्यो । भदौ महिनाको शूक्लपक्ष चौथी तिथिका दिन मनाइने मिथिलाको लोकपर्व चौठचन्द्रको बेला गणेश र चन्द्रमाको कथा पनि सुन्ने परम्परा रहेको छ  ।