वस्ती जोगाउन अरुण हाइटेन्सन अलाइन्मेन्ट परिवर्तनको माग

राजधानी संवाददाता/उदयपुर।

हाइटेन्सन लाईन बिस्तारले उदयपुरको कटारी नगरपालिकाभित्रका चार वडाका सर्वसाधारण विस्तापित हुने भएको छ । अरुण तेश्रो र सोलु कोरिडोरबाट उत्पादित विद्युत सप्लाई गर्ने हाइटेन्सन लाईन बिस्तारको क्रममा कटारी नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का सर्वसाधारण बिस्थापित हुने खतरा बढेको हो । कटारी नगरपालिकाको साविकको त्रिवेणी गाविस, कटारी बजार जहडी क्षेत्रमा बसोबास गर्ने करिब २१ हजार ८५१ जनालाई सो विद्युत विस्तारले समस्यामा पार्ने देखिएको छ ।

कटारी बजार क्षेत्रको धेरै सर्वसाधारण बिस्थापित हुने भएपछि उदयपुरका सरोकारवालाहरुले अरुण तेश्रो हाइटेन्सन लाईनको अलाइन्मेन्ट परिवर्तनको माग गरेका छन् । उदयपुरका प्रतिनिधि सभाका सांसद सुरेशकुमार राईसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, ऊर्जा मन्त्री वर्षामान पुनसहित विद्युत प्राधिकरणका प्रमुख  कार्यकारी निर्देशक कुलमान घिसिङलाई बालुवाटारमै भेटेर हाइटेन्स लाईनको अलाईमेन्ट परिर्वतन गरि दिन ज्ञापन पत्र बुझाएका छन् ।

कटारी नगरपालिकाको १, २, ३ र ४ नं. वडाको वस्ती पुरै बिस्थापित हुने गरी नक्शांकन गरी लगत कट्टा तत्काल रोकी मानव वस्तीलाई विस्थापित हुन नदिन ज्ञापन पत्रमा माग गरिएको छ । ज्ञापन पत्र बुझाउँदै सांसद राईले प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनु भएको बताएको छ । अरुण तेश्रोको अलाइमेन्ट परिवर्तन हुनेमा आफू विश्वस्त रहेको समेत राईले जानकारी दिए ।

 कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले आफूहरुले विकल्प दिन तयार रहेको तर कटारीको बढ्दो सहरीकरण र वस्ती बिस्थापित हुने गरी हाइटेन्सन लाईन बिस्तार गर्न नहुने प्रधानमन्त्री ओलीलाई जानकारी गराएको बताए । अरुण तेश्रो हाइटेन्सन लाइन र सोलु कोरिडोरले कटारीको मरुवामा परेको ५ वटा पोल परिवर्तन गर्नको लागि आफुहरु ज्ञापन पत्र बुझाउन पुगेको संघर्ष समितीका संयोजक केपी बरालले जानकारी दिए ।