शैक्षिक क्षेत्रको सुधारका लागि जनप्रतिनिधिको ऐक्यबद्धता

राजधानी संवाददाता/कालिकोट ।

जिल्लाको खस्कँदो क्षैक्षिक क्षेत्रमा सुधार ल्याउन कालिकोटका स्थानीय तहका जन प्रतिनिधिहरुले ऐक्यबद्धता जनाएका छन । शिक्षामा भएको अनियमितता, शिक्षकको लापरवाहीले शैक्षिक क्षेत्रमा धमिलो उब्जाएको भन्दै  अबदेखि शिक्षा नीति बलियो बनाएर अगाढि बढ्ने बताएका छन ।

शिक्षा बालबालिकाको क्षेत्रमा काम गदै आएको किर्डाक नेपालद्वारा सञ्चालित  सहयात्रा परियोजना र भिडिसेफ नेपालद्वारा सञ्चालित युवा सशक्तीकरण बुलगारी परियोजनाले गरेको जिल्लास्तरीय अर्धवार्षिक  समीक्षा बैठकमा  सहभागी जन प्रतिनिधिहरुले  सो धारणा व्यक्त गरेका हुन् ।

कर्णालीमा लामो समयदेखि नै खेताला शिक्षक हाबी शैक्षिक भवन निर्माणमा अनियमितता, विद्यायलयमा आउने दिवा खाजामा अनियमितता जस्ता कुराले शिक्षामा नराम्रो असर परेको भन्दै अबदेखि गाँउ शिक्षा समितिले कडाइका साथ हेर्नु पर्ने बताए ।

सो कार्यक्रममा त्रिवेणी गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर  शाहीले शिक्षकले महिनौदेखिको हाजिर एकै दिनमा लगाउने प्रवृत्रिलाई रोक्न आफुले चुनाव जितेको पहिलो महिनामा सबै विद्यालयहरुमा बायोमेट्रिक हाजिरी प्रणालीको शुरुवात गरेको जानकारी दिए । यस्तै, जिल्ला समन्वय समितिका उप प्रमुख लक्ष्मी विष्टले बालबालिकाको क्षेत्रमा काम गर्ने परियोजनाले अब नौवटै स्थानीय तहहरुमा गरिब तथा जेहन्दार कोषको स्थापना गर्न आग्रह गरेकी छन् । धेरै जसो सहभागीहरुले जोखिममा परेका बालबालिकाको पहिचान गरी तिनीहरुको व्यवस्थापन गर्नुपर्ने बताए ।