थासाङका दर्जनौं स्थानमा बाढीपहिरो

सुन्दरकुमार थकाली/मुस्ताङ।

लगातारको अविरल वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गतका गाउँहरूका दर्जनौं स्थानमा बाढीपहिरोले क्षति पु¥याएको छ ।
बुधवार बिहानदेखि राति अबेरसम्म परेको अविरल मुसलधारे वर्षाले थासाङअन्तर्गतका वडा नन्बर २, ३, ४ र ५ का विभिन्न गाउँहरूमा क्षति पु¥याएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।


थासाङ गाउँपालिका वडा नम्बर ५ ताक्लुङमा बुधवार साँझ बाढीपहिरो जाँदा त्यहाँ रहेको करिब ३ करोडलागतमा नवनिर्मित स्वास्थचौकी भवन पूर्ण रूपमा क्षति भएको छ । स्वास्थचौकी भवन तल रहेको आमा समूहको सामुदायिक भवनका तीन कोठा पूर्ण रूपमा क्षति भएका छन् भने त्यहाँ रहेका लाखौं मूल्यबराबरका भौतिक सम्पति नष्ट भएको आमा समूहकी अध्यक्ष शारदा शेरचनले जानकारी दिइन् । उनका अनुसार कुन्जो र ताक्लुङ गाउँमा करिब १५० रोपनी जमिनमा लगाइएको अन्नबाली बाढी पहिरोले नष्ट भएको छ ।
त्यस्तै, थासाङ गाउँपालिका–३ टिटी गाउँको लोप्साङ खर्कको तल टिटी पाखोमा दर्जनौं स्थानमा पहिरो गएको छ । पहिरोले त्यहाँ अवस्थित पर्यटकीय गन्तव्य टिटीताल उच्च जोखिम परेको छ । पहिरोका कारण तालको पूर्वतर्फको स्थानमा माटो र गेग्रान थुपरिएको छ । टिटीमै स्थानीयको करिब ५० रोपनी खेतीयोग्य जमिनसमेत काम नलाग्ने अवस्थामा रहेको स्थानीय तेजेन्द्र गौचनले बताए ।

बुधबारकै बाढी पहिरोले थासाङ कोखेठाटीका नौ घरधुरी जोखिममा रहेको इलाका प्रहरी कार्यालय कोवाङले जनाएको छ । त्यहाँ बेलबहादुर सिन्जालीको घर पूर्ण रूपमा क्षति भएको छ भने अर्को एक घरमा आंशिक क्षति भएको छ । कोखेठाटीमा तीन घर जलमग्न भएका छन् । त्यस्तै, त्यहाँ पनि खानेपानीको मुहान र पाइप बगाएको स्थानीयले बताए ।
पहिरो गई रूख ढल्दा केन्द्रीय विद्युत् प्रसारण लाइनको पोल ढल्न पुगेको छ भने विद्युत् तार चुडिएका छन् । लगातार परेको वर्षाले थासाङ–३ लेतेखोलानजिक करिब १५० मिटर सडक बाढी पहिरो बगाएको छ ।

बेनी–जोमसोम सडकखण्डमा दर्जनौं स्थानमा बाढी पहिरो जाँदा बेनी–जोमसोम सडक पूर्ण रूपमा प्रभावित भएको कालीगण्डकी करिडोरले जनाएको छ । करिडोरका अनुसार सडक सञ्चालन गर्न करिब एक साता बढी लाग्न सक्ने जनाएको छ । लेतेखोलाको बेलिब्रिजमा खोलाले कटान गर्दा जोखिम बढेको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ आएका सयांै आन्तरिक तथा बाह्य पर्यटकले सास्ती पाएका छन् भने बेनी–जोमसोम सडकमा करिब ५० भन्दा बढी सवारीसाधन अलपत्र परेको जनाइएको छ ।
बिहीबार मुस्ताङका प्र्रदेश सांसद महेन्द्रबहादुर थकाली, चन्द्रमोहन गौचन, थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन, प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, सशस्त्र प्रहरी बल सीमा सुरक्षा प्रमुख डीएसपी हरि गुरुङलगायतको टोलीले बाढी पहिरो स्थलको निरीक्षण गरेको छ । त्यस्तै, हिमालपारी उत्पडीत समुदाय विकास तथा सशक्तीकरण परिषद् र दलित एकता सञ्जालका पदाधिकारी सदस्यले बाढी पहिरो स्थलको निरीक्षण गरेका थिए ।