अनुशासन समिति र कार्यसम्पादन समिति गठनका विषयमा कांग्रेसमा विवाद, केन्द्रीय समिति बस्दै नबसी स्थगित

महेश्वर गौतम/काठमाडौं।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा अनुशासन समिति र कार्यसम्पादन समिति गठनको विषयलाई लिएर विवाद सुरु भएको छ । बिहीबारका लागि डाकिएको केन्द्रिय समिति बैठकमा दुबै समिति गठनका विषयमा विवाद हुँदा बैठक बस्दै नबसी स्थगित भएको हो ।
अनुशासन समिति र कार्यसम्पादन समिति गठनका लागि बोलाइएको बैठकमा नेतृत्वको विषयलाई लिएर विवाद भएको एक केन्द्रिय सदस्यले जानकारी दिए ।


अनुशासन समिति गठनको विषयमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र ‘तेस्रो धार’ को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाबीच बैठकमा मतान्तर देखिएको हो ।
स्रोतका अनुसार अनुसाशन समितिका सदस्यका लागि सभापति देउवाले वरिष्ठ नेता पौडेललाई सदस्यको नाम दिन आग्रह गरेका थिए ।
तर पौडेलले समितिको संयोजक बारेमा असहमती जनाएपछि बैठक बस्दै नबसि स्थगित भएको हो ।
सभापति देउवाले संस्थापन पक्षबाट अनुशाशन समितिमा भिष्मराज आङदम्बे, किशोरसिँह राठौर र वीरबहादुर बलायरलाई समितिमा राख्न चाहेका थिए । उनको रोजाइमा आङदम्बे लाई संयोजक बनाउने थियो । तर पौडेलले उनी जुनीयर भएको भन्दै सिनियर नेतालाई संयोजक बनाउन भनेका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक बस्दै नबसि स्थगित भएको बताए । उनले आन्तरिक कारणले बैठक बस्न नसकेको भन्दै नेताहरुबिचको छलफल पछि बैठकको अर्को मिति तय गरिने जनाए ।
अनुशासन समिति गठनका विषयमा भने नेता सिटौलाको छुट्टै धारणा देखिएको छ । उनले केन्द्रीय कार्यसमितिको बैठकबाट गठन भएको केन्द्रीय सदस्य रमेश रिजाल संयोजकत्वको समितिलाई पहिले विघटन गरेर मात्रै पुनर्गठन गरिनुपर्ने तर्क अघि सारेका छन । रिजालले भने पदबाट राजीनामा दिइसकेका छन् ।
कांग्रेस विधानको दफा ३३ मा केन्द्रीय अनुशासन समिति गठनको व्यवस्था छ । विधानअनुसार अनुशासन समितिमा एक संयोजक र चार सदस्य रहन्छन् ।

यस्तै पार्टी विधानको दफा २९ मा केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । विधानअुनसार केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारीहरु सभापति, उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र प्रवक्ता पदेन सदस्य हुन्छन् ।
यसबाहेक केन्द्रीय कार्यसमितिले आफूमध्येबाट बढीमा २२ सदस्य चयन गर्ने विधानमा व्यवस्था छ । विधानअनुसार केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्नेछ ।
यसअघि पार्टीले गठन गरेको केन्द्रीय कार्यसम्पादन समिति विधान विपरीत भएको भनी आलोचना भएपछि विघटन गरिएको थियो । यसअघि २२ भदौका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक तयारी नपुगेको कारण देखाएर बिहीबारका लागि सारिएको थियो ।