नीतिनियमबाहिर बसेर काम गरेको छैन : ढुंगाना

राजधानी संवाददाता/धादिङ ।

 नीलकण्ठ नगरपालिकामा नगरप्रमुख भीमप्रसाद ढुंगानाले उप्रमुख मनराज भण्डारीलगायत केही वडाध्यक्षले लगाएको आरोप झुटो भएको बताएका छन् । बिहीबार धादिङबेंसीमा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख ढुंगानाले  आफूले नीतिनियमभन्दा बाहिर रहेर काम नगरेको बताए ।

आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै ढुंगानाले सबै काम नीतिनियमभित्रै रहेर, उपप्रमुख र कार्यपालिकासँग सल्लाह गरेरै गरिएको प्रतिक्रिया दिए । ‘सबै काम नगरपालिकाको ऐन नीतिनियमभित्रै रहेर गरेको छु ।’ ढुंगाना भन्छन्  ‘कुनै पनि बैठकमा बहुमतको प्रयोग गरिएको छैन । उपप्रमुखलगायत वडाध्यक्षहरूले भनेजस्तो बहुमतको हालीमुहाली गरेकै छैन । आरोप लगाउनुभन्दा अगाडि प्रमाण हेर्नुपर्छ ।’

कार्यपालिकाको निर्णय व्यक्तिगत वा राजनीतिक रूपमा नभई कानुनी व्यवस्थाबमोजिम हुने प्रावधान रहेको र स्थानीय सरकार सञ्चालन ऐनले नगरसभा र कार्यपालिका बैठकमा बहुमतले गरेको निर्णयउपर लिखित असहमति जनाउने कुनै प्रावधान नगरेको ढुंगानाले बताए । जानीजानी निर्णय प्रक्रियामा संलग्न नहुने, बैठकमा नबस्ने तर उपस्थिति जनाउनेजस्ता कार्य गरेको प्रति ढुंगानाले असन्तुष्टि व्यक्त गरेका छन् । ‘उपप्रमुखलगायतले फरक विचार मत भए राखौं भन्दा नराख्ने, बैठकका एजेन्डाभन्दा बाहिर कुराकानी गर्ने । बैठक बहिस्कार गछौं भन्नेजस्ता व्यवहार देखाएको ढुंगानाले बताए ।