पहिरोमा परेर चार जनाको मृत्यु, तीन बेपत्ता

जनक श्रेष्ठ/लमजुङ ।

जिल्लाको विभिन्न स्थानमा बुधबार परेको वर्षाले पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकाका–३ खुदीको पल्लोटारीमा पहिरोले बगाउँदा दुई जना, सोही वडाको अर्खलेमा एक जना र वडा नम्म्बर ४ श्रीचौरमा एक जना गरी चार जनाको ज्यान गएको हो ।

पहिरोमा परेर पल्लोटारीकी  नौ वर्षीया सिरषा थापा र उनकी हजुरआमा ६० वर्षीया अतिरूपा थापा, अर्खलेकी ५५ वर्षीया ललितमाया गुरुङ र श्रीचौरकी ४४ वर्षीया विष्णुमाया गुरुङको मृत्यु भएको प्रमुख  जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । बुधबार दिउँसो भएको अत्यधिक वर्षाका कारण उक्त भेगका विभिन्न खोलाखोल्सीमा आएको बाढी र बाढीसँगै चलेको पहिरोमा परेर उनीहरूको ज्यान गएको हो ।

त्यस्तै, मस्र्याङ्दी नदीको वहाव बढेपछि दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माणाधीन पावरहाउसमा कार्यरत दुई जनालाई बाढीले बगाएपछि बेपत्ता भएका छन् भने मस्र्याङ्दी गाउँपालिका–४ नास्कुचेका एक जना पहिरोमा परेर हराइरहेका छन्  । जलविद्युत् आयोजनामा कार्यरत बर्दियाका २२ वर्षीय लक्ष्मण थारू र २७ वर्षीय बलिराम चौधरीलाई नदीले बगाएर बेपत्ता बनाएको सोही आयोजनामा कार्यरत कर्मचारी ईश्वरकुमार श्रेष्ठले बताए । त्यस्तै, नास्कुचेका ५५ वर्षीय राजु लामा पहिरोमा परेका हुन् । उनीहरूको बिहीबार बिहानैदेखि खोजी भइरहेकोमा फेला नपरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

त्यस्तै, पहिरोमा परेर मस्र्याङ्दी गाउँपालिकाका विभिन्न गाउँका १० जना घाइते भएका छन् । घाइते हुनेहरूमा सोही गाउँपालिका–३ तरापु पल्लोटारीका पाँच वर्षीय सिजन थापा, ६२ वर्षीया टेकमाया खत्री, ३० वर्षीय कृष्ण थापा, १२ वर्षीय रसिद थापा रहेका छन् । थापा थरका घाइतेहरू एकै परिवारका हुन् ।

त्यस्तै, तनहुँ घर भई डोजर चलाउँदै आएका २४ वर्षीय समिर विक वडा नम्बर ४ श्रीचौरको पहिरोमा परेर घाइते भएका छन् । श्रीचौरकै ५० वर्षीय नैनमाया गुरुङ, वडा नम्बर ३ अर्खलेकी ७० वर्षीया फूलमाया गुरुङ, वडा नम्बर ४ रामबजारकी १४ वर्षीया पार्वती गुरुङ, ४५ वर्षीया रेलकाशी गुरुङ र ५० वर्षका देवबहादुर गुरुङ पनि घाइते भएका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए । घाइतेमध्येका अर्खलेकी फूलमाया गुरुङलाई बेंसीसहरस्थित सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारका लागि चितवन लगिएको छ । श्रीचौरकी पार्वती गुरुङ र घोप्टेगाउँका  उरमाया तामाङ, दलबहादुर तामाङ र नैनमाया तामाङ गरी पाँच जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि बेंसीसहर ल्याइएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

रामबजारनजिकैको खोलामा आएको बाढी र पहिरोले रामबजारको एक घर बगाएको छ भने अन्य घर जोखिममा परेका छन् । पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पूरै बगाएको छ भने बिनु गुरुङ र दमाई गुरुङको घरमा आंशिक क्षति पुग्नुको साथै अन्य घर जोखिममा रहेका छन् ।