अमेरिकाबाट नेपालमा खनालका अमूर्त कला

राजधानी समाचारदाता/काठमाडौं  ।

गत महिना अमेरिकाको लस एन्जलसको सिटी अफ गार्डिएनमा आफ्नो ३२औं एकल चलचित्रकला सिर्जना तथा प्रदर्शन गरेका चित्रकार रमेश खनालले ती चित्रलाई बिहीबारबाट काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् ।
अमेरिकी स्वतन्त्र जीवनशैलीलाई मध्यनजर राखेर आफूले ती चित्रहरू अमेरिकामा सिर्जना गरेको कलाकार खनालले बताए । अमेरिकामा प्रदर्शन गरेका केही र नेपाल फर्किएपछि सिर्जना गरेका केही गरी २१ थान चित्र उनले अरुपण आर्ट ग्यालरी लाजिम्पाटमा प्रदर्शनमा राखेका छन् ।

प्रदर्शनमा राखिएका बहुसंख्यक चित्र अमूर्त छन् । यसरी अमूर्त चित्र बनाउनुको कारणबारे कलाकार खनालले भने, ‘मैले अमेरिकाको लाक्मा, गेटी, फ्रेडरिक, ह्यामर म्युजियम, टोरेन्स आर्ट म्युजियम, म्यानहटनबीच आर्ट सेन्टर, द ब्रोड आर्ट, द म्युजियम पुगेको थिएँ । त्यहाँ सबै अमूर्त चित्रकला देखें र त्यहीबाट प्रभावित भएर अमूर्त चित्र तयार गरेको हुँ ।’
यसपटक आफ्ना चित्रहरू अमेरिकाका चर्चित चित्रकारका संगीत र उनीहरूको कलाबाट सिर्जना भएको पनि उनले बताए । अमेरिकामा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी चित्रकला बढी रुचाइने भएकाले आफूले पनि यस्तै भावको चित्र तयार गरेर प्रदर्शनमा ल्याएको पनि कलाकार खनालले प्रदर्शनी उद्घाटन समारोहमा बताए ।

प्रदर्शनीमा राखिएका चित्रकलामा गाढा रङको हरियो, पहेंलो, निलो र रातो रङको बढी प्रभाव देख्न पाइन्छ । यस्तो गाढा रङको प्रयोग गरेर स्वतन्त्रताको गहिराइ छुने प्रयास गरेको पनि उनले बताए । अरुपण स्पोन्टेनिस–२ शीर्षकको उनको यो ३३औं एकल प्रदर्शन त्यहाँ अझै केही दिन हेर्न तथा किन्न पाइनेछ ।