सिनेमामा मगर संस्कृति

राजधानी समाचारदाता/काठमाडौं ।

फुपु चेलाले मामा चेलीलाई विवाह गर्ने हक लाग्ने मगर समुदायको परम्परालाई समेटेर चलचित्र ‘साली कस्को भेनाको’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । यस्तै, दाइको निधन भएमा भाइले भाउजूसहितको परिवारको रेखदेख गर्नुपर्ने जस्ता मगर संस्कृतिलाई पनि यस चलचित्रमा समेटिएको छ ।

मगर संस्कृतिमाथि नेपाली चलचित्र त्यति निर्माण नभएकाले आफूले लामो अनुसन्धानपछि यो चलचित्र निर्माण गरेको यसका निर्माता प्रसाद श्रेष्ठले बताएका छन् । पुरानो चलचित्र कान्छी, सन्तान, कर्जा आदि निर्माण गरेका प्रसाद दुई दशकपछि यो चलचित्र लिएर दर्शकमाझ आएका हुन् ।

शुक्रबार मुलुकका करिब पाँच दर्जन सिनेमा हलमा साली कसको भेनाको रिलिज हुँदै छ । यो चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौंमा प्रिमियर गरिएको थियो ।

यस चलचित्रलाई भद्र भुजेलले निर्देशन गरेका हुन् । जसमा प्रसादसँगै रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ ‘विशाल’, कमला भट्टराई, मुक्ति अधिकारी पनि निर्माता छन् ।

यस चलचित्रमा विल्सनविक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा,  कविता आले, रवि गिरी, वीरेन श्रेष्ठ, प्रिया रिजाल, पुष्प आचार्य, देव सागर, बलबहादुर गुरुङको अभिनय छ । यो चलचित्र हास्यप्रधान रहेको छ ।

दोस्रो सातामा रोज

गत साता रिलिज भएको प्रदीप खड्का अभिनित चलचित्र रोज शुक्रबारबाट दोस्रो सातामा मुलुकका करिब पाँच दर्जन सिनेमा हलमा प्रवेश गरेको यसका निर्माता मणिकरण केसीले बताएका छन् । यसका वितरक गोविन्द शाहीका अनुसार बुधबार तीजको दिन काठमाडौंका सबैजसो हलमा रोज हाउसफुल भयो । निरक पौडेल निर्देशित रोजमा प्रदीप खड्का, मिरुना मगर, पारमिता राज्यलक्ष्मी राणा, पल्पसा डंगोलसहितको अभिनय छ ।