गोल्डेन डोर फेस्टिभलमा सेलफोन

राजधानी समाचारदाता/काठमाडौं ।

अमेरिकाको आठौं गोल्डेन डोर इन्टरनेसनल फिल्म फेस्टिभल अफ न्यु जर्सीमा ढ्यांग्रो बेचेर मोबाइल फोन किन्ने एक युवकको संघर्ष कथा समेटिएको नेपाली लघु चलचित्र ‘सेलफोन’ चयन भएको छ ।

२० सेप्टेम्बरदेखि सुरु हुने चार दिने फेस्टिभलको फ्यामिली ड्रामा विधाअन्तर्गत ‘सेलफोन’ छानिएको हो । फेस्टिभलको तेस्रो दिन २२ सेप्टेम्बरमा सेलफोन प्रदर्शन हुनेछ  । फूलमान बलको निर्देशन रहेको सेलफोन प्रविधि र सांस्कृतिक मान्यताबीचको संघर्ष समेटिएको १५ मिनेटको लघु चलचित्र हो ।

यो लघु चलचित्र केही वर्षअघि काठमाडौंमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवमा उत्कृष्ट भएको थियो । त्यस्तै चीन, बंगलादेश, अमेरिका, कोलम्बियालगायतका मुलुकका आधा दर्जन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूको अफिसियल सेलेक्सनमा चयनमा परेर प्रदर्शन भइसकेको छ ।

यो लघु चलचित्रमा उमेश तामाङ, शान्ति वाइबा, प्रेम लोप्चनलगायतले अभिनय गरेका छन् । यसलाई ङिमा पाख्रिन (अमेरिका), चन्द्रमाया बमजन (इजरायल) लगायतले निर्माण गरेका हुन् । यसमा संस्कृति र आधुनिकताबीचको संघर्ष तेस्रो विश्व मात्रै होइन, संसारभर नै छ भन्ने सन्देश प्रस्तुत गरिएको निर्देशक बलले राजधानीलाई बताए ।

नेपालबाटै गायक रामकृष्ण ढकालको ‘अचेल पाइलैपिच्छे…’ बोलको गीत फेस्टिभलको म्युजिक भिडियो विधामा छानिएको छ । कृसु क्षत्रीको शब्द रहेको यो गीतस“गै फेस्टिभलका लागि विश्वभरबाट झन्डै सय म्युजिक भिडियो छानिएका छन् ।