हरिवंशको ‘जे भने नि हुन्छ…’

राजधानी समाचारदाता/काठमाडौं ।

हास्य अभिनेता हरिवंश आचार्य आफैंमा कुशल गायक पनि हुन् । साझा बसमा जो पनि चढ्दछ…, सहित कैयौं हिट गीत गाएर एक समय एल्मबसमेत निकालेका यिनै गायकले बिहीबार आफ्नो एउटा नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

यसपटक उनले भिडियोमा हेर्ने भन्दा पनि सुन्ने गीत बनाएका छन् । जे भने नि हुन्छ मलाई…बोलको उनको यो गीत लोक आधुनिक शैलीको निकै माधुर्य बनेको छ ।

यो गीत कलाकार हरिवंश आफैंले लेखेका हुन् । गीतमा संगीत पनि उनी स्वयंले दिएका छन् । आफूले  गाएको गीतलाई प्रत्यक्ष रेकर्डिङ शैलीमा भिडियो बनाएर उनले मह सञ्चारको युट्युबबाट रिलिज गरेका छन् ।

भिडियोमा वाद्यवादक कलाकारलाई पनि उनले समेटेका छन् । गीतको शब्द समसामयिक छ । भिडियो पनि निकै सरल बनेको छ । सुदन केसीले निर्देशन गरेको यो भिडियोलाई दीर्घ गुरुङले खिचेका हुन् । भिडियोको सम्पादन जीवन थापाले गरेका हुन् ।