आकर्षक नाडा अटो

शिव दुवाडी/काठमाडौं ।

मंगलबारदेखि काठमाडौको भृकुटिमण्डपा शुरु भएको नाडा अटो शो २०१८ गाडीका पारखिकालागि आकर्षणको कन्द्र वनेको छ । मेला अवधिभरमा ६० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने आयोजकको अनुमान अनुसार तेस्रो दिनसम्ममा मानिसहरुको उल्लेख्य सहभागिता रहेको छ । नेपाल अटोमोवाइल डिलर्स एशोसिएसनका सचिव अरुण बराल, मेलामा अपेक्षाकृतरुपमा मानिसहरुको सहभागिता भएको बताउँछन् । प्रत्येक बर्ष आयोजना हुँदै आएको नाडा अटो शो मा धेरै प्रकारका सवारी साधान हुने हुनाले एउटै थलोमा आफ्नो रोजाई अनुसारका सवारी साधान छान्न सकीने भएकोले यस किसिमको मेलामा मानिसहरुको उपस्थिती वाक्लो हुने गरेको उनले बताए ।

थोरै रकम भुक्तानी गरेर किन्न सकिन्छ कार

आफ्नै गाडी चढ्ने सपना धेरैको हुन्छ । तर, महंगो रकम खर्चिएर गाडी किन्ने अवस्था सकैको हुँदैन । केही वर्षदेखि मोटरसाइकल छाडेर कार किन्नेहरुको संख्या बढ्दै गर्दा यसका केही मूलभूत कारण मध्यबजारमा उपलब्ध सस्ता कार पनि हो ।
ठूलो आम्दानीको स्रोत हुनेहरुले ‘अटो लोन’ लिएपछि गाडीको सपना त्यति ठूलो पनि हुँदैन । तर, मध्यमवर्गीय परिवारका लागि आफ््नै गाडीको सपना महत्वकांक्षा जस्तो पनि देखिन्छ । तर, पछिल्लो समयमा यो अवस्था फेरिएको छ । कतिपय गाडी त अपत्यारिलो मूल्यमा किन्न पाइने भएकाले धेरैको ध्यान यस्ता गाडीले खिचेका छन् । गाडी दैनिक आवश्यकताको साधन बन्दै गएको छ । निर्माता कम्पनीहरुले मध्यमवर्गका ग्राहकलाई समेत लक्षित गरी साना गाडी बजारमा ल्याउने क्रम जारी नै छ ।
त्यसैले अहिले सानो बजेट भएकाहरुलाई पनि आफ्नै कारको चढ्ने सपना साकार गर्नु ठूलो चुनौतिको विषय हुने गरेको छैन । बजारमा केही त्यस्ता इन्ट्री लेभलका कार छन्, जसले मध्यम वर्गलाई उनीहरुको आफ्नै गाडीको सपनासँग सहजसँग जोडिरहेका छन् । नाडामा ३५ प्रतिशत डाउनपेमेन्ट गर्दा ६ लाख रुपैयाँ बराबारमै कार घरमा लैजान सकिन्छ ।
नेपालमा पछिल्लो समयमा साना, सस्तो र धेरै माइलेज दिने कारहरुको माग बढ्दो क्रममा छ । आजभोलि सडकहरुमा विभिन्न कम्पनीका इन्ट्री लेभलका कारको संख्या बाक्लो देखिन थालेको छ । गाडी उत्पादक कम्पनीहरुले पनि मोटरसाइकल छाडेर गाडी किन्न चाहाने मध्यमवर्गलाई लक्षित गरेर इन्ट्री लेभलकै कारमा उत्कृष्ट सुविधा, डिजाइन, इञ्जिन, माइलेज र ग्राउण्ड क्लेयरेन्स प्रदान गरेका छन् । त्यसैले नियमित आम्दानीबाट थोरै बचत गर्न सक्ने उपभोक्तालाई यस्ता गाडीले गजबसँग आकषिर्त गरिरहेका छन् ।


सडकको दुरावस्थाले मोटरसाइकल यात्रा जोखिमपूर्ण बन्दै गएकाले पनि विकल्पमा कार प्रयोग गर्नेहरुको संख्या दिनप्रितिदिन उकालो लागिरहेको छ । अझ सार्वजनिक सवारी साधनको यात्रा सहज र भरपर्दो नहुँदा पनि इन्ट्री लेभलकै कार खरिदमा ग्राहकको चासो बढ्दो छ । त्यसमाथि मोटरसाइकलमा यात्रामा गर्दा धुवाँ धुलो मात्रै भोग्नु पर्दैन, झरीको समयमा रुझ्नुपर्छ भने घाममा पनि धेरै समस्या भोग्नुपर्छ । यस्तो अवस्थामा आफूले ‘अर्फोड’ गर्न सक्ने मूल्यमा राम्रा स्तरका गाडी किन्न पाइने अवस्था छ । त्यसैले गाडीमा धेरैको चासो बढ्नु स्वभाविक नै भएको कम्पनीहरु बताउँछन् ।
नेपालमा सामान्यतया हुण्डाई, सुजुकी र टाटाका साना गाडीहरु बढी प्रचलित छन् । सँगै अन्य थुप्रै कम्पनीहरु पनि इन्ट्री लेभलको कार लिएर बजारमा आएका छन् । यो लेभलको कार बजारमा केही नयाँ गाडी प्रवेश गरेका छन् भने कुनैले बजारमा बर्चश्व नै कायम गरेका छन् ।

टाटा कार किन्दा हिराको हार, बुकिङ गर्दा हेलिकोप्टरमा सरर

टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडी किन्नेलाइ ५ लाख रुपैयाँको हिराको हार उपहार दिने घोषणा गरेको छ । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा गाडी खरिद गरे बापत ग्राहकले ५ लाख रुपैयाँसम्मको हिराको हार वा ३ लाख ५० हजार रुपैयाँसम्मको खरिद छुट पाउने कम्पनीले जनाएको छ । सबै प्रकारका गाडी बुकिङमा १ वर्षको बिमा सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
टाटाले नाडा अटो शो अवधिभरी आफ्नो कुनै पनि गाडी खरिद गर्ने वा बुकिङ गर्ने ग्राहकलाई हेलिकोप्टरमा रसुवाको पर्यटकीय हिमाली क्षेत्र लाङटाङ लाने भएको छ । यस पटकको नाडा शोमा टाटाले नयाँ भर्सनको ‘नेक्सन एएमटी’ सार्वजनिक गरेको छ । नेक्सन टाटाको सबै भन्दा बढी बिक्री हुने गाडी मानिन्छ । अटो शोमा टाटाले इलेक्ट्रिक गाडी टिगोर समेत प्रदर्शनमा राखेको छ ।

हुण्डाइको इओनमा आकर्षण

इओन गाडी हुण्डाईको उत्कृष्ट इन्ट्री लेभलको कार हो । विभिन्न विशेषताका कारण यो कार नेपालमा लोकप्रिय भइससेकेको छ । नेपालमा चार कलर र २ भेरियन्टमा इओन उपलब्ध छ । सस्तो मूल्यमा उत्कृष्ट डिजाइजसहित विभिन्न विशेषताले भरिपूर्ण भएकाले यो कारलाई धेरैले रुचाएका छन् । ८ सय सीसीको इओनमा १ सय ७० एमएमको ग्राउण्ड क्लिरेन्स छ । यसै कारण पनि ग्राहकको मन जित्न यसलाई गाह्रो परेको छैन ।
मोटरसाइकल ‘सब्स्टीच्युट’ गर्नेका लागि इओन उत्कृष्ट र महत्वपूर्ण कार हुनसक्छ । किनकी यसले पनि कम इन्धन खपत गर्छ भने लुक्स बेजोडको छ । यसले प्रतिलिटर २१ दशमलब १ किलोमिटर गुड्ने क्षमता राख्छ । यो कारमा ३२ लिटरको इन्धन टयांकी छ ।
नेपाली बजारमा पेट्रोल भर्सनको इओन डिलाइटको प्रारम्भिक मूल्य १७ लाख ५१ हजार रुपैयाँ छ । सानो खालको गाडी भएपनि स्पेसमा कुनै कमी नरहेको दाबी कम्पनीको छ ।

महिन्द्राका विद्युतीय गाडिमा झुम्मिए मानिस

‘नाडा अटो शो–२०१८’ मा महिन्द्रा, हुण्डाई, टाटा, रेनो लगायतका निर्माता कम्पनीले नयाँ विद्युतीय गाडीहरु प्रदशनीमा राखेका छन् । महिन्द्राले पहिले नै विद्युतीय कार नेपालमा बिक्री वितरण सुरु गरिसकेको छ। यस पटकको ‘शो’ मा पनि महिन्द्राले ‘इभिटारो सेडान’ नामक विद्युतीय गाडी सार्वजनिक गरेको छ ।
महिन्द्रा गाडीको नेपालको आधिकारिक वितरक ‘अग्नि इन्कर्पोरेट’ ले इभिटारो सेडान नाडा अटो शोको अवसरमा सार्वजनिक गरेको हो । यो गाडी चार्ज हुन नर्मल चार्जरले ८ घण्टा ४५ मिनेट र फास्ट चार्जरले १ घण्टा ४५ मिनेट लाग्ने कम्पनीले जनाएको छ । ३१ किलोवाटको ब्याट्री रहेको यस सेडानले ९१ एनएम टर्क दिन्छ।


ब्याट्रीको वारेन्टी ३ वर्ष वा ४० हजार किलोमिटरको छ भने गाडीको वारेन्टी चाहिँ २ वर्ष वा ४० हजार किलोमिटर रहेको छ। ‘नाडा अटो शो’ मा नै बुकिङ गर्न सकिने यो कारको नेपाली बजार मूल्य २८ लाख ८० हजार मूल्य निर्धारण गरिएको छ ।
इन्ट्री लेभलको अल्टो मारुती–सुजुकीको उत्पादन हो । अहिले यो सबैभन्दा बढी बिक्री हुने कारमा पर्छ । अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले अत्याधिक रुचाएका छन् ।
सिजी मोटोकोर्पकाअनुसार नेपाली बजारमा अल्टो विभिन्न भेरियन्टमा उपलब्ध छ । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यो गाडी ६ वटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल टयांकी छ ।
यसले प्रतिलिटर २४ दशमलव ७ किलोमिटर माइलेज दिन्छ । माइलेजका कारण पनि यसले नयाँ गाडी ग्राहकको ध्यान तानेको छ ।

नेपाली बजारमा अल्टोको मूल्य १६ लाख ३९ हजार रुपैयाँबाट हुन्छ भने फूल अप्सन अल्टो २० लाख ८९ हजार रुपैयाँसम्म पर्छ । अल्टो स्टान्डर्ड नेपालमा ट्याक्सीका रुपमा प्रयोग गरिएको छ ।
अल्टोले शहरी क्षेत्रमै पनि १९ किलोमिटर प्रतिलिटरको माइलेज दिइरहेको सिजी मोटाकोर्पले बताउँछ । अल्टो इन्धन किफायती भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको छ ।
मूल्यको हिसाबले ग्राहकको मन जित्न सफल कार हो जापनीज ब्राण्ड डाटसनको ‘रेडी गो’ पेट्रोल इञ्जिन जडित यो अर्वन क्रस कारको नेपालीबजारमा न्युनतम् मूल्य नेपाली बजारमा १५ लाख २५ हजार रुपैयाँ रहेको छ ।
१ हजार सिसीको इञ्जिनवाला रेडी गो पनि २० लाख ५९ हजारमा किन्न पाइन्छ । अझ कम्पनीले नाडामा छुटसहित र विभिन्न सुविधासहित ग्राहकलाई बेनिफिट दिइरहेको छ ।


डाटसन गाडीको नेपाली आधिकारिक विक्रेता पायोनियर मोटोकर्प हो । ‘रेडी गो’ फेमिली ह्याचब्याक कार हो । ‘रेडी गो’ नेपाली बजारमा हुन्डाई इओन र मारुती अल्टोसँग प्रतिस्पर्धा गरिरहेको छ । प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने भएकाले पनि रेडी गो ग्राहकमाझ लोकप्रिय बन्ने क्रममा रहेको छ ।
यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यो गाडी १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । जसले गर्दा काठमाडौ लगायत सवारी जाम हुने शहरमा यसको महत्व बढेको कम्पनीको दावी छ ।
रेडी गो कारको सबैभन्दा आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । ह्याचब्याक कार भएर पनि यसमा एसयुभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स छ । यो गाडीमा तीन वर्ष फ्रि सर्भिस र वारेन्टीको सुविधा दिइएको छ ।