हुस्सुका कारण ६ दिनदेखि उडान ठप्प, पर्यटक अलपत्र

डि.वि.खालिङ, लुक्ला । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा ६ दिनदेखि कुनै पनि विमानले उडान भर्न सकेको छैन ।
सगरमाथा क्षेत्रमा पर्यटकको आगमन हुने एक मात्र विकल्पको रुपमा रहेको विमानस्थललाई हुस्सुले ढाकेको हुदाँ पर्यटकहरु अलपत्र परेका छन । नेपाल उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुवँरका अनुसार ३ सयभन्दा बढी पर्यटकहरु काठमाण्डौ फर्कन नपाएर लुक्लामै बस्न वाध्य भएका छन ।

उनीहरु दैनिक विमानस्थल आउदै आफू वसेको होटलमा फर्कने गरिरहेका छन । सो विमानस्थलमा पर्यटक आगमनको लागि मात्र नभई काठमाण्डौ र फाप्लु विमानस्थलबाट खाद्यन्न ढुवानी पनि गर्ने गरिन्छ । त्यसैले आजभोली खुम्बु क्षेत्रमा विभिन्न किसिमका तरकारी तथा खाद्यन्नको अभाव समेत हुन थालेको नाम्चे होटल ब्यवसायी संघका सदस्य लामाकाजी शेर्पाले वताए ।

प्याज प्रतिकेजी तीनसय
लुक्लामा प्याज प्रतिकेजी ३ सय देखि ५ सयको हाराहरीमा विक्रि वितरण भैरहेको भएपनि माग अनुसार उपलब्ध गराउन नसकेको ब्यापारीहरुको भनाई छ । मौसम खरावीका कारण विमान रोकिएसंगै खुम्बु क्षेत्रमा पर्यटकहरु आउन सकिरहेका छैन्न जसले गर्दा सिजनलको रुपमा चल्ने होटल तथा पसल सञ्चालकहरु ब्यापार खस्केको वताएका छन ।

पर्यकिय सिजन शुरु भएपनि अझै बर्षादकै समय भएकोले ग्रामिण सडकहरु पूर्ण रुपमा सञ्चालनमा आएको छैन । जसले गर्दा खुम्बु क्षेत्रमा आउने जाने पर्यटक तथा खाद्यन्न ढुवानीमा अझ समस्या भएको ब्यवसायीहरुको भनाई छ ।