आदेश लत्याउँदै प्रकाण्ड पक्राउ, सर्वोच्चले सरकारलाई भन्यो– ‘कारबाही गर्न नपरोस्’

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

तर, सर्वोच्चबाट बाहिर निस्कने क्रममा उनलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
गत असारमा चन्दा उठाएको आरोपमा पक्राउ परेका विकलाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै रिह ागर्न आदेश दिएपनि प्रहरीले अर्को अभियोगमा अनुसन्धान गर्ने भन्दै पक्राउ गर्दै आएको छ ।

शुक्रबारमात्रै सर्वोच्चले विश्वकर्मालाई पटक पटक पक्राउ गरेकोमा सरकारलाई कडा चेतावनी दिएको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले संविधानको धारा १२८ (४) अनुसार सरकारमाथि नै अवहेलनामा कारबाही गर्ने चेतावनी दिएपनि त्यसलाई लत्याउँदै विकलाई पुनः पक्राउ गरिएको छ ।

विक संविधानले प्रत्याभूत गरेको वैयक्तिक स्वतन्त्रताको हक उपयोग गर्न बञ्चित भएको भन्दै सर्वोच्चको आदेशमा भनिएको छ, ‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकको प्रचलनका लागि यस अदालतबाट एउटै व्यक्तिको गैरकानुनी थुनाका सम्बन्धमा पटकपटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहिँ यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन ?’

विधिको शासन भएको लोकतान्त्रिक मुलुकमा यस्तो कार्य कदायी क्षम्य नहुने पनि आदेशमा उल्लेख छ । सर्वोच्चले भनेको छ, ‘यस अदालतले गरेको आदेशको मर्यादाको र पालनाको लागि नेपालको संविधानको धारा १२८ (४) को अधिनमा रही अन्य उपयुक्त आदेश समेत जारी गर्नुपर्ने अवस्था आउन सक्छ ।’

संविधानको धारा १२८ को उपधारा ४ मा सर्वोच्चले ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने’ उल्लेख छ ।