नाडा आटो सो मा अवलोकनकर्ताको भीड, चारदिनमै ४० हजारले हेरे

मधुजंग पाण्डे/काठमाडौं।

गत मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सञ्चालित सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो सो–२०१८’ मा अवलोकनकर्ताको भीड लागेको छ । मेला सुरु भएको चौथो दिन शुक्रबार साँझसम्म करिब ४० हजारले अवलोकन गरेको मेला आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ ।


नाडा अटोमोबाइल एसोसिएसनका सचिव एवं नाडा आटो सो–२०१८ का प्रचारप्रसार समिति सभापति अनुप बरालले मेला सुरु भएको चौथो दिन शुक्रबार साँझसम्म करिब ४० हजारले अवलोकन गरेको जानकारी दिए । अहिलेसम्मको चापको अनुपातलाई हेला विगत वर्षको तुलनामा यसपालिको मेलामा अपेक्षा गरिएभन्दा बढी अवलोकनकर्ताको भीड लाग्ने देखिएको बताउँदै बरालले भने, ‘शुक्रबारसम्म करिब ३५ देखि ४० हजार अवलोकनकर्ता यो मेलामा आइसकेका छन् ।’ आगामी ३१ भदौसम्म सञ्चालन हुने ६ दिने मेलामा करिब ६० हजार अवलोकनकर्ता आउने अनुमान गरिए भए पनि अहिले सो अनुमानभन्दा बढी आउने लक्ष्ण देखिएको भन्दै उनले मेला विगतभन्दा निकै व्यवस्थित भएको दाबी गरे ।

गत वर्ष कुल ६२ हजार अवलोकनकर्ता नाडामा सहभागी भएको जानकारी गराउँदै उनले यसवर्ष सो संख्याभन्दा निकै बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको बताए । अहिले मेलामा बैंक वित्तीय संस्था, बिमा कम्पनीको र ठूला हेभी इकुपमेन्टको स्टल नभए पनि मेला सुरु भएको चौथो दिन शुक्रबारसम्म करिब ४० हजार अवलोकनकताले मेला भर्नु निकै उपलब्धिमूलक भएको बरालको दाबी छ । अहिले आफूहरूले अवलोकनकर्तालाई सहज रूपमा स्टलमा पुगेर विभिन्न ब्रान्डका सवारीसाधनका बारेमा जानकारी लिन मेलालाई एकदमै व्यवस्थित बनाएको बताउँदै उनले अहिलेको मेलामा अवलोकनकर्ताको भीड एकीकृत भएको बताए । मेलामा सबै स्टलमा पुगेर आफूलाई मनपरेको सवारीका बारेमा सबै जानकारी लिएर सहज रूपमा बुकिङ गराउन नाडाले गरेको प्रयासप्रति मेला भर्न आउनेहरूले पनि निकै प्रशंसा गरेको उनको भनाइ छ ।

दसैंको मुखैमा सञ्चालन भएको यस मेलामा विभिन्न कम्पनीका सवारीसाधन विक्रेताले सवारी पारखीलाई लोभ्याउन अहिले विभिन्न उपहार एवं छुटैछुटको बहार नै ल्याएका छन् । जसले गर्दा मेलामा अवलोकनकर्ताको भीड लाग्ने गरेको नाडाले जनाएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा आगामी ३१ भदौसम्म सञ्चालन हुने सवारीसाधन पारखीका लागि विभिन्न ब्रान्डका गाडीको कुम्भ मेलालाई लक्षित गरेर अहिले विभिन्न कम्पनीले उपभोक्ताको अपेक्षा र चाहनाअनुरूपका सवारीसाधन प्रदर्शनीमा राखेका छन् ।
विगत वर्षजस्तै अहिले पनि नाडा अटो सोमार्फत विभिन्न ब्रान्डका सवारीसाधनले नेपाली बजारमा प्रवेश पाएका छन् । कतिपयले आफ्ना पुरानै तर आकर्षक मोडल प्रस्तुत गरेर छन् । व्यापारभन्दा पनि ग्राहकलाई आकर्षण गर्ने अवसरका रूपमा लिइने नाडा अटो सोमा यसपटक पनि चारपांग्रे र दुईपांग्रे सवारीसँगै उभिएका सुन्दर मोडललाई आँखा लगाउनेको भीड पनि उत्तिकै छ । जहाँ सुन्दर मोडलका बाइक र कार राखिएका थिए, त्यहाँ मानिसको ठूलै भीडभाड देखिएको छ । होला त्यहाँ मोडलसँगै राम्रा ब्रान्डका राम्रो उत्पादन पनि थिए होलान् । तर, त्योभन्दा पनि फरक माहोल थियो, हुन्डाई, टोयटा, सुजुपी, हिरो, टीभीएस, बजाज, टाटा, यामाहालगायत ब्रान्डका स्टलमा अवलोकनकर्ताको निकै भीड लागेको थियो ।
ती स्टलमा अवलोकनकर्ता स्वःस्फुर्त पुगेका थिए । त्यहाँ उनीहरूलाई न कुनै उभिएको सुन्दरीले तानेका थिए, न कुनै आकर्षण गिफ्ट ह्याम्परले । लामो समयदेखि नेपाली बजारमा परिचित यी ब्रान्डसँगको विश्वासले नै होला, उनीहरू त्यहाँ आएका । नयाँ उत्पादनका बारेमा जानकारी लिन, खरिदका लागि बुकिङ गर्नेलगायतका काम गरिरहेका थिए । कतिपय त त्यी नयाँ उत्पादनसँग सेल्फी खिच्दै पनि थिए । मेलामा पुगेका अवलोकनकर्ताबीच आफूलाई मन परेको सवारीमा चढेर सेल्फी खिच्दै गरेको र खिचाउनेको पनि उत्तिकै रौनक थियो ।

अहिले यस नाडा अटो सोमा पुगेर बाइक तथा कारममा बसेर फोटो खिच्ने र खिचाउने हजारौं छन् । हुन पनि हो । विश्व बजारमा भित्रिएका तर नेपाली बजारमा नआएका कतिपय फ्याल्गसिप कार, बाइक तथा स्कुटर पनि त्यहाँ प्रदर्शनमा राखिएको छ । कतिपय बाइक र कारको मूल्य पनि बराबर छ । त्यहाँ ४५ लाखसम्मको बाइक र करोडौं रुपैयाँ पर्ने कारको प्रदर्शनी भएको छ । यही विविधता र आकर्षणले वार्षिक रूपमा आयोजना हुने यो मेलामा अवलोकन गर्नेहरूको भीड लाग्ने गरेको नाडाले बताएको छ ।

विश्वबजारका चिरपरिचित ब्रान्डको आगमनले कार र बाइकका सौखिनलाई पनि त्यहाँ डो¥याउन सफल भएको छ । त्यसैले त यही अटो सोबाट भित्रिएको नयाँ ब्रान्ड ‘जिप’ का उत्पादनमा पनि ठूलो माहोल बन्यो । विश्वकै पहिलो एसयूभी ब्रान्ड भनेर चिनिने जिपले पनि आफ्नो नयाँ तथा पुराना युनिक उत्पादनलाई त्यहाँ प्रस्तुत गरेको छ । सबैको आआफ्ना युनिक उत्पादनसँगै त्यहाँ विभिन्न योजना र सजावटको पनि माहोल छ । कम्पनीले अवलोकनकर्तालाई आकर्षण गर्न विभिन्न योजना त प्रस्तुत गरेकै छन् । त्योभन्दा पनि त्यहाँ विभिन्न खेलसमेत खेलाइएको छ । आफ्नो ब्रान्डको बारेमा अवलोकनकर्तालाई प्रश्न सोध्ने र सही जवाफ आएका केही उपहार प्रदान गर्ने खेल पनि चलिरहेको छ । कतै स्टलमा अवलोकनकर्तालाई बोलाएर उनीहरूको फोटो खिची, फोटोलाई फेसबुक फोटो कन्टेस्टमा सहभागी गराउने काम पनि भइरहेको छ । फेसबुक फोटो कन्टेस्ट जित्नेले ठूलै उपहार पाउँछन् । जसका कारण पनि अहिले यहाँ अत्यधिक भीड लागेको अवलोकनकर्ताको भनाइ छ ।