सूर्योदयका ९५ घरमा खरका छाना हटाएर जस्ता लगाइने

भगीरथ भण्डारी /इलाम ।

इलामको सूर्योदय नगरपालिकाले नगरपालिकाभित्र भएका ९५ वटा घरमा खरकाको छानो हटाएर त्यहाँ जस्ताको छाना लगाइदिने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६को नगर विकास योजनाको नीति तथा कार्यक्रमअनुसार अति विपन्न आर्थिक अवस्था भएका परिवारको बसोबास गर्ने घरको छानामा जस्ता लगाइने भएको हो । नगरपालिकाले यसका लागि ४ लाख रुपैयाँ विनियोजन पनि गरिसकेको छ । नपाको विनियोजन ऐन, २०७५ को अनुसूची ५ मा लक्षित समूह सीमान्तकृत शीर्षकमा फुसको छाना प्रतिस्थापन कार्यक्रममा सो रकम छुट्याइएको हो ।

नगरपालिकाले छिट्टै काम सम्पन्न गरिहाल्ने जनाएको छ । अहिले नगरपालिकाले खरको तथा प्लास्टिकको छाना भएका घरको तथ्यांक संकलन गर्ने काम गरिसकेको जनाएको छ । सो तथ्यांकअनुसार नगरका १४ वटा वडामध्ये दुईवटा वडामा फुसको छाना भएका घर नै छैनन् । वडा नम्बर ६ र वडा नम्बर ८ (साबिक फिक्कल गाविस का वडा नम्बर १ र २ तथा साबिक कन्याम गाविसको वडा नम्बर १ र २) मा कुनै घर फुसको नभएको हो । वडा नम्बर ८ का वडाध्यक्ष सुभाषकुमार राईका अनुसार अति विपन्न परिवार भए पनि फुसको छानामा लगाउने खर नपाइने भएकाले उनीहरूका घरमा जस्ता लागेको बताए ।
नगरका अरू १२ वटा वडामध्ये सबैभन्दा बढी वडा नम्बर ४ मा १७ घरमा खरको छाना रहेका छन् । ११ र ९ नम्बर वडामा ११÷११ घरमा फुसको छाना रहेका छन् । वडा नम्बर १ मा १० घर, ३, १२ र १४ मा आठ÷आठ घर, ५ मा सात घर, ७ मा ६ घर, १३ मा पाँच घर, २ र १० मा दुई÷दुई घर पुसका छाना छन् । यो तथ्यांक पहिलो चरणको भएको र अब यसलाई छानबिन गरी अन्तिम तथ्यांक संकलन गरिने नगरपालिकाका प्रशासकीय अधिकृत खगेन्द्र बर्देवाले बताए ।
उनका अनुसार नगरपालिकाको भदौ २७ गतेको बैठकले दुई जना वडाध्यक्ष सम्मिलित एउटा समिति बनाएको र त्यो समितिले अन्तिम तथ्यांक निकाल्ने भएको हो । अन्तिम तथ्यांक आएपछि ती घरमा जस्ताको छाना लगाउँदा लाग्ने खर्च अनुमान गरेर काम थालिने पनि बर्देवाको भनाइ छ ।

नगरपालिकाले जस्ता उपलब्ध गराउने मात्र हो कि घरमा जस्ता लगाइदिने हो भन्ने बारेमा निर्णय लिइसकेको छैन । जस्ता उपलब्ध गराउने मात्र गर्दा विपन्न परिवारले त्यो जस्तालाई घरमा लगाउन चाहिँ सक्छन् कि सक्दैनन् भन्ने कुराले नगरपालिकालाई अहिले के गर्ने भन्ने अन्योलमा पारिदिएको छ ।

‘हामीले खरका छाना विस्थापन गरि व्यवस्थापन गर्ने त भनेका छौं तर जस्ता दिएर मात्र त्यो जस्ता घरमा प्रयोग हुन सकेन भने के गर्ने भन्ने हो’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले भने, ‘जस्ता लगाउने संरचना घरमा बनेको हुनुप¥यो, त्यस्तो नभए के गर्ने भन्ने हो । अब त्यसका लागि के गर्ने भन्ने निर्णय हुन बाँकी छ ।’ छुुट्याइएको बजेटले पुग्ने नपुग्ने र अन्य बजेट थपेर भए पनि जस्ता लगाउनसमेत सहयोग गर्ने बारेमा नगरपालिकाले निर्णय गर्ने उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन् ।