हात गुम्यो, हिम्मत गुमेन

प्रकाश आचार्य /बुटवल।

गरमा फूल फुलाउँछु
बसन्तलाई यही बोलाउँछु
मेरो दुई पाउ छन् अजम्बरी
म हिम्मत भा’की छोरी
गर्नुपर्छ मिहिनेत हुन सक्छ असजिलो
असम्भव केही छैन, सबै सजिलो
भोकै रहूँ, नखाऊँ दुई हात जोडी हात
म त हिम्मत भा’की छोरी

यो गीत गाएकी हुन्– दुवै हात करेन्ट लागेर गुमाएकी कपिलवस्तु वाणगंगा नगरपालिका–६, धमकौलीकी रूपा रौतारले । रूपाका लागि २०६२ सालको भदौ कहिल्यै नबिर्सने दिन बन्यो । सिमसिम पानी परिरहेको थियो । आमा इन्द्रकला रूपालाई नजिकैको होराइजन स्कुलमा भर्ना गरेर घर आउँदै थिइन्

बाबा विष्णुप्रसाद मलेसियामा काम गर्थे । चिठी लेखाउन रूपासँगै आमा इन्द्रकला छिमेकीको घरमा बसे । त्यहाँ पुगेसँगै चार वर्षीया रूपा निदाइन् । इन्द्रकलाले चिठी लेखाउँदै गर्दा निदाएकी रूपा एक्कासि उठेर घरको छतमा पुगिछन् । उनको नजिकै रहेको बिजुलीको तारमा हात छोइएछ । लगत्तै ठूलो आवाज आयो । इन्द्रकला हतारिँदै छोरीको खोजीमा छतमा जाँदा त रूपालाई करेन्ट लागेछ । करेन्टले उनका दुवै हात जलेर डढेको ठुटाजस्तै भए । माथिबाट खसेपछि उनको शरीरमा पनि चोट लाग्यो ।
उनलाई तत्काल लुम्बिनी अञ्चल अस्पताल पु¥याइयो । अस्पतालले काठमाडौं टिचिङ अस्पताल रिफर ग¥यो । टिचिङले कान्ति बाल अस्पतालमा पठायो । इन्द्रकलाले केही दिनअघि बुटवलका सञ्चारकर्मीसँग त्यो कहालीलाग्दो घटनाको बेली बिस्तार लगाइन् ।
कान्ति अस्पतालमा एक साता उपचार भएपछि चिकित्सकहरूले उनका दुवै हात काटेर फालिदिए । इन्द्रकलाले भनिन्, ‘चिकित्सकले हामीलाई एकपटक पनि नसोधी दुवै हात काटेर फालिदिएछन् । यसो नगर्दा क्यान्सरको सम्भावना हुने भएपछि काटेर फालिएको उत्तर दिए ।’ झन्डै ११ महिना काठमाडौंमा बसेर उपचार गराएपछि रूपा र आमा घर फर्किए ।
बीचबीचमा ड्रेसिङ गर्न भने उनी जान्थिन् । लापरबाहीले रूपाका दुवै हात गुमेको दाबीसहित विद्युत् कार्यालयमा निवेदन दिएपछि उनले ९४ हजार रुपैयाँ पाइन् । तर, उनको उपचारमा झन्डै ४ लाख रुपैयाँ खर्च भयो । बाबाले कमाएको सबै पैसा पनि रूपाकै उपचारमा सकियो । रूपालाई आमाले विभिन्न विद्यालयमा भर्ना गर्न लगिन् । तर, दुवै हात नभएकाले कसैले पनि लिन मानेनन् ।
अन्ततः बुटवलकी विष्णु श्रेष्ठको नेतृत्वमा बुटवल ल्याएर बुटवलको दीप बोर्डिङ हाइ स्कुलमा कक्षा नर्सरीमा भर्ना गरियो । अहिले उनी कक्षा ८ मा दीप बोर्डिङमा निःशुल्क छात्रवृत्तिमा पढ्दै छिन् । उनलाई कोठाबाट लिन विद्यालयको गाडी आउँछ । साथीहरुसँगै प्रार्थना गरेपछि उनी कोठाभित्र छिर्छिन् । देब्रे साइडमा उनलाई छुट्टै बस्ने स्थान राखिएको छ । साथीसँगै बस्छिन्, पढ्छिन्, खाजा खान्छिन् अनि विद्यालय सकेपछि विद्यालयकै गाडीमा घर फर्किन्छिन् । विद्यालय समयपछि उनले बागेश्वरी संगीतालयमा संगीत पनि सिक्दै आएकी छन् ।


विगत आठ वर्षको संगीत सिकाइसँगै उनी अहिले आएर ‘हिम्मत भा’की छोरी गीत र म्युजिक भिडियो बजारमा ल्याउन सफल भएकी छन् । ‘मेरो भाग्यमा यस्तै लेखेको रहेछ । जे नहुनु दुर्घटना भइहाल्यो,’ उनी भन्छिन्, ‘अब पछुताएर केही हुनेछैन । मलाई कुनै ग्लानि पनि छैन ।’ रूपाले खुट्टाले नै खान्छिन् । खुट्टाले नै लेख्छिन् । आफैं नुहाउँछिन् । आफ्नो कपडा आफैं फेर्न सक्छिन् । मोबाइल चलाउँछिन् । उनको अक्षर पनि राम्रा छन् । रूपा आज कुनै सांगभन्दा कम छैनन् ।
संघर्षले मानिसलाई सफल मात्रै होइन, सक्षम पनि बनाउँछ । परिश्रम र संघर्षले जीवनमा कतिपय नसोचिएका र आशा मारिएका कुरा पनि सम्भव तुल्याउँछ भन्ने रूपाबाट सिक्न सकिन्छ । उनको भिडियो गीत बनाउन र छायांकन गर्न लाग्ने सम्पूर्ण खर्च काठमाडौंका उद्योगी विकास अग्रवालले दिएका छन् ।
रूपाले आफू संगीतबाटै अगाडि बढ्ने बताइन् । उनी अहिलेसम्म कुनै स्टेज कार्यक्रममा गएकी छैनन् । परिवारले उनको उच्च शिक्षाको व्यवस्था गरिदिन माग गरेका छन् । कक्षा १२ सम्म दीप बोर्डिङले निःशुल्क छात्रवृत्तिमा पढाइदिए पनि त्यसपछिको शिक्षाका लागि आफूहरूलाई सहयोग आवश्यक रहेको आमा इन्द्रकला बताउँछिन् ।
बागेश्वरी संगीतालयका प्रअ सुरेस सेन्चुरीले रूपाको संगीतप्रति विशेष रूचि रहेकाले गीतकै माध्यबाट उनले धेरै गर्न सक्ने बताए । उनले भने, ‘रूपाको स्वर राम्रो छ । लगाव पनि धेरै छ । गीतबाटै उनी अगाडि बढ्न सक्छिन् ।’
उनले थपे, ‘खुट्टाले खान्छिन्, खुट्टैले लेख्छिन् । यी सब गर्न उनका दुवै हात छैनन् त के भो ? सयौं हातझैं सबैको साथ छ । प्रमाण हो, उनको जादुगरीझैं लाग्ने सुमधुर स्वर ।’ हाल रूपाको परिवार बुटवल–११, देवीनगरमा बस्दै आएको छ । रूपाका बाबा सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा सुरक्षा गार्डका रूपमा कार्यरत छन् । दीप बोर्डिङका प्रचार्य टीकाराम न्यौपानेले रूपाको पढाइ राम्रो रहेको बताए ।
‘सुरुमा रूपालाई हामी भर्ना लिन आनाकानी गरेको सम्झँदा अहिले मलाई आत्मग्लानि भएको छ । तर, रूपा अहिले विद्यालकी गहना मात्र नभएर दशै गहनाका रूपमा निस्किँदै छिन् । विद्यालय उनलाई पूर्ण सहयोग गर्छ,’ प्राचार्य न्यौपानेले भने । रूपालाई खर्च जुटाएर प्लास्टिकको कृक्रिम हात राख्ने इच्छा छ । उनले ल्याएका गीत युट्युबमा पनि हेर्न सकिन्छ ।