सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

सरकारद्वारा घोडेजात्रा ‘बहिष्कार’, तीनै जना उपप्रधानमन्त्री समारोहमा अनुपस्थित

2 years ago
27/03/2017

1

राजधानी समाचारदाता
काठमाडौं, १४ चैत

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा जानुअघि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी नदिएको असर घोडेजात्रामा देखिएको छ । नेपाली सेनाले सोमबार घोडजात्राको अवसरमा टुडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा सरकारमा रहेका तीनै जना उपप्रधानमन्त्रीहरु गएनन् ।

नेपाली सेनाले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका नाममा निमन्त्रणा गरेको भएपनि कार्यवाहक प्रधानमन्त्री कोही नतोकिएकाले त्यहाँ नगएको स्रोतले दावी गरेको छ । वरीयता विवादका कारणले कार्यवाहक नतोकी प्रधानमन्त्री दाहाल चीन गएको प्रभाव घोडेजात्रामा देखिएको सैनिक अधिकारीहरुले पनि स्वीकार गरेका छन् ।

‘सैनिक मञ्च टुँडिखेलमा भएको घोडेजात्राको औपचारिक कार्यक्रममा तीनैजना उपप्रधानमन्त्रीहरु आउनु भएन, हामीले उहाँहरुलाई पनि निमन्त्रणा गरेका थियौं,’ सैनिक स्रोतले भन्यो ‘काम परेर हुनसक्छ उहाँहरु कोही पनि आउनु भएन ।’

टुडिखेलमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री वा कार्यवाहक प्रधानमन्त्रीका लागि पहिलो लहरमा विशिष्ट अतिथीसँगै कुर्सी राखिएको थियो, जुन कुर्सी खाली नै भयो । मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछि को वरिष्ठ भन्ने विवादले प्रधानमन्त्रीको कुर्सी खाली रहन गएको हो ।

घोडेजात्राको औपचारिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायतका सैनिक अधिकारीहरुले स्वागत गरेका थिए । सो कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँडको भने उपस्थिति थियो । हरेक वर्ष चैत्र कुष्ण चतुर्दशीमा मनाइने घोडेजात्रामा नेपाली सेनाले घोडादौड, अश्वकलालगायत प्रदर्शन गर्ने गर्छ ।

प्रधानमन्त्रीको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणको स्वीकृति पनि आफैले गरेका थिए । सरकारमा राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित दोस्रो वरीयता दिने हल्ला चलेपछि अर्का उपप्रधामन्त्री विमलेन्द्र निधिले सरकार छाड्ने धम्की दिएका थिए । जसका कारण मन्त्रीपरिषदको बैठक समेत प्रभावित बनेको थियो ।

प्रधानमन्त्रीको कार्यवाहक कसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच समेत विवाद भएपछि दाहाल कसैलाई पनि कार्यवाहक नदिइ चीन गएका थिए । उनी चीन भ्रमणमा गएपछि प्रधानमन्त्रीको हैसियतमा गर्ने सरकारी काम कारवाही पनि प्रभावित भएको छ । देउवाले निधिलाई नै कार्यवाहक तोक्न र दोश्रो वरियतामा राख्न दिइएको निर्देशन प्रधानमन्त्रीले नमानेपछि मर्यादाक्रमका कारण सत्तारुढ दलभित्र गम्भीर संकट उत्पन्न भएको बताइन्छ ।

वर्तमान सरकार गठनका बेला दोश्रो वरीयतामा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री निधि र हालै सरकारमा सहभागि राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाबीच विवाद उत्पन्न भएको हो । उपप्रधानमन्त्री थापाले आफू केपी ओली सरकारको पालामै दोश्रो वरीयताको उपप्रधानमन्त्री भइसकेको भन्दै वरीयतामा दोश्रो स्थान खोजेपछि निधिको वरियतामा प्रश्नचिन्ह खडा भएको थियो । व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्रीपछिको दोश्रो कुर्सीमा उपप्रधानमन्त्री कमल थापा बसेपछि निधि संसद बैठकमा गएका थिएनन् । उपप्रधानमन्त्री निधिले भने आफूलाई दोश्रो वरियतामा नराखे सरकार छोड्ने धम्की दिइरहे पनि सरकार नै छाडेर हिड्ने अवस्था नरहेको काग्रेस निकट स्रोतले जनाएको छ ।

निधि अनुपस्थित भएपछि निधिले प्रस्तुत गर्नुपर्ने राजनीतिक दलसम्वन्धी विधेयेक भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखकले प्रस्तुत गरेका थिए ।