सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

सम्भव छ लोडसेडिङमुक्त मुलुक

2 years ago
06/04/2017

सम्भव छ लोडसेडिङमुक्त मुलुक

 

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले छिट्टै नेपालले बिजुली बेच्ने दिन आउँछ भन्दा कतिले अझै विश्वास गरेका छैनन् । उनले सम्भावना छ, भनिरहँदा उनको कदमलाई सफल बनाउनभन्दा पनि कसरी हुन्छ ? भन्दै औंलो ठड्याउनेहरू बाँकी नै छन् । घिसिङले प्रारम्भमा काठमाडौंलाई लोडसेडिङमुक्त गर्दा पनि घिसिङलाई मन नपराउने प्राधिकरणका केही भूपू कर्मचारीहरूले चुनौती नै दिए ‘कुनै पनि हालतमा लोडसेडिङ नगरी सुखै छैन ।’ त्यो चुनौती पार गर्दै आउँदो वैशाखदेखि सिंगै मुलुकलाई लोडसेडिङमुक्त बनाउने योजनामा रहेका घिसिङलाई सकेसम्म असफल बनाउने योजनामा अझै केही तŒवहरू सक्रिय रूपमा लागेका छन् ।
लोडसेडिङको हैरानी खेपेका सर्वसाधारणका लागि प्राधिकरणमा प्रबन्ध निर्देशक भएर आएलगत्तै घिसिङ राष्ट्रिय व्यक्तित्व बने । उनले लोडसेडिङको मार खेप्न विवश सर्वसाधारणलाई राहत मात्रै दिएनन्, वर्षौंदेखि बिजुली चोरीमा संलग्नलाई प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भए । चुहावट नियन्त्रणमा पनि उनले सराहनीय काम गरे । अहिले केही व्यक्तिलाई घिसिङले मुलकवासीका लागि हितअनुकूल काम गरेकामा भन्दा पनि उनले जस पाएकामा चिन्ता छ । प्राधिकरणमा वर्षौं बसेका तर नागरिकको हितमा काम नगरेकाहरूलाई अर्को चिन्ता छ, ‘हाम्रा कमी कमजोरी र भ्रष्टाचारीसँगको संलग्नता सार्वजनिक पो हुने हुन् कि ?’ त्यसकारण पनि घिसिङको योजना सकेसम्म तुहियोस् भनेर लाग्नेहरू अझै सक्रिय छन् । घिसिङले विद्युत्को माग बढाउनुपर्ने भन्दै निर्माणाधीन योजना समयमै सम्पन्न गर्न पनि विशेष कदम चाल्ने भएका छन् । काठमाडौंमा रहेका ४ सय मेगावाट क्षमताका ट्रान्सफर्मरलाई अपग्रेड गरेर हजार मेगावाट बनाउने योजना बनाएका छन् । तामाकोसी बनेपछि वर्षमा ६ महिना बिजुली बेच्ने महŒवाकांक्षी योजना अघि सारेका छन् ।
नेपालको विद्युत् क्षेत्रमा घिसिङले एउटा प्रणालीको विकास गरेर क्रान्ति गरे भन्दा फरक पर्दैन । उनी कसको पालामा प्राधिकरणमा आए भन्दा पनि उनले मुलुकका लागि कस्तो काम गरे भनेर समीक्षा गरिनुपर्छ र राम्रा काम गर्नेको प्रशंसा गर्न कुनै पनि दलको सरकारले कन्जुस्याइँ गर्न हुन्न । माओवादी नेतृत्वको सरकारका पालामा प्राधिकरण छिरेका घिसिङका राम्रा काम देखेर कांग्रेस र एमालेका कतिपयलाई लागेको होला, हामीले गर्न नसकेको काम गरेर घिसिङ ‘हिरो’ भए । अब घिसिङलाई डाह गर्नुको कुनै अर्थ छैन भन्नेमा स्पष्ट हुन जरुरी छ । नेपाली जनमानसमा घिसिङको यस्तो छवि स्थापित भइसक्यो, अब उनले खराबै काम गरे पनि जनमानसले झट्टै विश्वास गर्न गा¥हो मान्छ । हिजो कसको पालामा के कमजोरी भएको थियो समीक्षा गरेर अघि बढ्ने हो भने घाटा कसैलाई हुनेछैन । अब कार्यान्वयनको चुनौती घिसिङसँग छ । उनले यसलाई चुनौती होइन अवसरका रूपमा सदुपयोग गर्नुपर्छ । आशा गरौं, घिसिङको पदचाप पछ्याउँदै अन्य सरकारी अड्डालाई समेत प्राधिकरणकै गतिमा अघि बढाउने योजनामा दलका नेताहरू लाग्नेछन् ।