सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

२२ अर्बमा दुई नयाँ एयरबस ल्याइने,निगम र एएआरबीच खरिद सम्झौता

2 years ago

मधुजंग पाण्डे / काठमाडौं

मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र अमेरिकन कम्पनी एएआरबीच दुईवटा वाइड बडीको  नयाँ विमान ल्याउन खरिद सम्झौता भएको छ । अमेरिकन बिक्रेता  कम्पनी एएआरसँग पहिलो विमान सन् २०१८ को अप्रिलसम्म आइसक्ने गरी सम्झौता भएको हो ।  शुक्रबार राजधानीमा भएको सम्झौताअनुसार दोस्रो विमान सन् २०१८ को मे महिनासम्ममा आइपुग्नेछ । सो सम्झौतामा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र एएआरका प्रमुख दीपक शर्माले हस्ताक्षर गरेका हुन् ।

अमेरिकन कम्पनी एएआर कर्पोरेसनले नेतृत्व गरेको कन्सोर्टियम र निगमबीच सम्पन्न भएको सम्झौतामा  निगमलाई आवश्यक दुईवटा नयाँ विमान (२ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर) २१ अर्ब ९० करोड रुपैयाँमा खरिद गर्ने सम्झौता भएको हो । निगमका महाप्रबन्धक कंसाकारले दुई पक्षबीच भएको सम्झौताको समयअनुरूप नै नयाँ विमान आइपुग्ने बताए ।

उनले अहिलेसम्म विविध कारणले विदेशीको नजरमा नेपाललाई महँगो गन्तव्य मानिँदै आएकामा निगमले वाइड बडी विमान खरिद गरी सञ्चालनमा ल्याएपछि अपेक्षाकृत भाडा सस्तो हुनुका साथै नेपाल सहज गन्तव्य हुने बताए । उनले सरकारले पर्यटन प्रवद्र्धनमा विशेष अभिरुचि राख्दै निगमलाई विमान किन्न ग्यारेन्टी दिएकामा आभार व्यक्त गरे ।

यो मुलुकको हवाई उड्डयन इतिहासमै निकै ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गर्न लागेको यही पहिलोपटक भएको जानकारी गराउँदै उनले गत १४ माघमा  निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको बताए ।  निगमले गत ४ फागुनमा दुईथान वाइड बडी विमान खरिद गर्न एएआरलाई बैनास्वरूप १० लाख अमेरिकी डलर पठाइसकेको थियो ।

निगमले पठाएको बैना रकम पाएपछि नै एएआरले निगमलाई खरिद सम्झौताको मस्यौदा पठाएको थियो । एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी विमान बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत २ माघमा  अनुमोदन गरेको थियो ।

निगमले एयरबसको सबैभन्दा सानो वाइड बडी ‘ए ३३०–२००’ विमान खरिद गर्न आह्वान गरेको ग्लोबल टेन्डरमा १० वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए ।

निगमले नयाँ विमान खरिदका लागि कर्मचारी सञ्चयकोषसँग ऋण लिन लागेको छ । ब्याजदरमा सहमति हुन काँकी रहे पनि ऋण लिने विषय भने यसअघि नै टुंगिसकेको छ । अहिले निगमले खरिद गर्न लागेको विमान अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा सस्तो परेको छ ।  पोर्चुगिज एभिएसन कम्पनी हाइप्mलाइले एयरबससँग खरिद अर्डर गरेको थियो । तर, हाइप्mलाइ कम्पनी ऋणमा गएपछि विमान खरिद गर्न नसक्ने भयो र त्यो विमानलाई एएआरले सकारेर अहिले निगमलाई बिक्री गर्न लागेको हो ।

अहिले निगमले खरिद गर्न  लागेको विमान फ्रान्सको टुलुज सहरमा रहेको छ । नयाँ एयरबस २ सय ८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा बिजनेस क्लासका सिट रहनेछन् । यी विमान नेपाल आएपछि निगमले साउदीको दमाम, कोरियाको सिओल, अस्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा काठमाडांैबाट नियमित व्यावसायिक उडान भर्ने लक्ष्य लिइको बताएको छ । निजी क्षेत्रका पर्यटन व्यवसायी एवं सरकारी र अन्य सरोकारवालाहरूले पनि मुलुकको राष्ट्रिय ध्वजावाहक निगमको नयाँ विमान सकेसम्म छिटो आएर व्यावसायिकअन्तर्राष्ट्रिय उडान भर्न थाल्यो भने पर्यटक आगमनको संख्या अपेक्षा गरिएको भन्दा अझ बढ्ने बताएका छन् ।

(Visited 6 times, 1 visits today)
Loading comments...