सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

चोरीसिकार नियन्त्रणमा ध्यान देऊ

2 years ago
10/04/2017

चोरीसिकार नियन्त्रणमा ध्यान देऊ

 

तेस्रो पटक शून्य चोरीसिकार वर्ष मनाइरहेको चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेर खागको तस्करी भएको छ । नियमित सुरक्षा गस्ती भइरहने निकुञ्जको मुख्यालयनजिक पश्चिम सेक्टरमा पर्ने जगतपुरको हरियाली सामुदायिक वनमा सिकारीले गैंडा मारेर खाग लगे । शनिबार बिहान मृत गैंडा भेटिएपछि निकुञ्जमा सुरक्षार्थ खटिएको सेनाको सुरक्षामाथि शंका उब्जिएको छ । जगतपुरको टाइगर ल्यान्ड होटलनजिकै करिब १२ वर्षको वयस्क भाले गैंडा मारिँदा २४ घण्टा सुरक्षा दिइरहेको सेनाको गस्तीले के गरिरहेको थियो भन्ने प्रश्न उब्जिएको छ । धारिलो हतियारका कारण गैंडाको खाग र पुच्छरमा चोट लागेको थियो भने घाँटीमा गोली लागेको थियो । २० वैशाख, २०७१ देखि चितवनमा चोरीसिकारबाट गैंडा मरेको थिएन । लामो समयपछि गैंडाको चोरीसिकारमा संगठित समूह सक्रिय भएको स्पष्ट हुन्छ । नियमित गस्ती गरिरहेको सेनाको टोलीसहित स्थानीय समुदाय सम्मिलित चोरीसिकार प्रतिकार समूहले काम गरिरहेको अवस्थामा पनि संगठित समूहले गैंडा मार्नुले गस्ती प्रभावकारी हुन नसकेको प्रस्ट हुन्छ ।

घाँसे मैदानमा चर्नका लागि गएको गैंडाको नियमित रूपमा अवलोकन गरेर नै गैंडा मार्ने योजना तयार गरेको अनुमान गर्न सकिन्छ । स्थानीय समुदाय, निकुञ्ज कर्मचारी र सेनाको संयुक्त गस्ती टोलीले नियमित गस्ती गर्ने गरे पनि शंकास्पद गतिविधिबारे जानकारी लिन नसकेको यो घटनाले प्रस्ट पारेको छ । गैंडा मारेको स्थाननजिकै नेपाली सेनाको नियमित गस्ती गर्ने ध्रुव पोस्ट छ । ०७१ वैशाखमा गैंडा मारिएपछि सेनाले गस्तीका लागि पोस्ट नै खडा गरेको थियो । सेनाले गस्ती गरेको स्थानमै शनिबार गैंडा मारिनुले सुरुको समयमा संगठित रूपमा लागेको समूहले नै पुनः चोरीसिकारको कामलाई निरन्तरता दिएको हो । केही दिनअघि मात्रै चितवनका गैंडालाई शुक्लाफाँटामा स्थानान्तरण गरिएकाले सेना र निकुञ्जका कर्मचारी व्यस्त थिए । निकुञ्जको सुरक्षा व्यवस्थामा सेनाले राम्रो गस्ती गरेको भन्दै अन्तर्राष्ट्रिय स्तरमै सम्मान पाउँदै आएको छ । सबैको सहभागितामा वन्यजन्तुको चोरीसिकार नियन्त्रणमा महŒवपूर्ण फड्को मारेको भन्दै विश्व समुदायले नेपालको प्रशंसा गर्दै आएको थियो । सरकारी निकायले पनि मुलुकभित्र चोरीसिकार नियन्त्रण गरेको भन्दै अन्तर्राष्ट्रिय फोरमहरूमा सफलताको कथा सुनाउँदै आएको थियो ।

विश्व समुदायलाई चोरीसिकार नियन्त्रणको पाठ सिकाउँदै आएको हाम्रो मुलुकले अब के जवाफ दिने ? विभिन्न प्रविधिको प्रयोग गरेर गस्ती गरिँदै आएको निकुञ्ज क्षेत्रभित्रै गैंडा मारिनुले अपनाइएको प्रविधिको उपयोगितामाथि प्रश्न उब्जाएको छ । सेनाले आफ्नो गस्ती समूहले कुन स्थानमा कसरी गस्ती गरिरहेको छ भन्ने कुरा भद्रकालीबाटै नियमित निगरानी गर्ने प्रविधिको विकास गरी कार्यान्वयनमा ल्याएको ६ महिना पनि नबित्दै गैंडा मारिएको हो । वन्यजन्तुको चोरीसिकार नियन्त्रणका लागि सरकारले अपनाएका प्रविधिहरूले काम गरेनन् या त गस्ती नै हुन छाडेकाले यो घटना घटेको हो भन्ने विषयमा छानबिन हुनु आवश्यक छ । वन्यजन्तुको चोरीसिकार नियन्त्रणका लागि अझ राम्रो र सशक्त संयन्त्रको निर्माण गर्न सरकार चुकेको छ । यस घटनाबाट पाठ सिकेर थप सुरक्षा अपनाउनेतर्फ सरकारको ध्यान जाओस् ।