सोमवार २ भाद्र, २०७६ (Monday, 19th August 2019)
२ भाद्र, २०७६ (19 August 2019)

मनाइयो झुलन महोत्सव

3 years ago
19/08/2016

सुजीतकुमार झा-राजधानी

जनकपुरधाम, २ भदौ | दुई सातादेखि झुलन महोत्सवमा व्यस्त रहेका जनकपुरवासीले सोमबार महोत्सव समापन गरेका छन् । विगतमा जस्तै यसपटक पनि जनकपुरमा झुलन महोत्सव भव्यताका साथ सम्पन्न गरिएको छ ।

jhulan-mahotsab-sampann१३ दिनसम्म चलेको सो महोत्सवको क्रममा झुला (विशेष प्रकारको झोलुंगो) मा रामजानकीलाई झुलाइयो । सो उत्सवलाई लिएर जनकपुरको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरलाई विशेष रूपले सजाइएको थियो । महोत्सवको अन्तिम दिन बिहीबार हजारौं व्यक्तिले रामजानकीको दर्शन गरे । प्रत्येक वर्ष साउन महिनामा जनकपुरमा यो उत्सव हुने गरेको जानकारी जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए ।

झुलनोत्सवको प्रारम्भ त्रेतायुगबाटै भएको कथन छ । भगवान् रामजानकीले त्रेता युगमा सो महोत्सव सुरु गरेको पनि सम्बन्धित धार्मिक ग्रन्थहरूमा उल्लेख रहेको वैष्णवले जानकारी गराए । उनका अनुसार जनकपुरका हरेक मन्दिरमा रामजानकीको मूर्तिलाई झुलामा दुई साताभरि दैनिक केही घन्टा बसाउने गरिन्छ ।

धार्मिक ग्रन्थमा उल्लेख गरिएअनुसार त्रेतायुगमा भगवान् राम र सीताको शुभविवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले आयोध्यावासीलाई उपहारस्वरूप दिएको सुनचाँदी तथा मणिको भारले अयोध्यामा पहाड नै बनेको थियो । सीतासामु पहाडको महŒव नरहेको भन्दै सो सामान लिन राजा दशरथले अस्वीकार गरे । जसलाई नगरबाहिर राखिएको थियो । दशरथको व्यवहारले जनक दुःखित नहुन् भनेर मणिको सो पर्वतमा रामसीताले उत्सव गरेका थिए । त्यसैलाई झुलन महोत्सवका रूपमा निरन्तरता दिन थालिएको हो ।

झुलन महोत्सवका सम्बन्धमा संस्कृतिविद् एवं साहित्यकार डा. सुरेन्द्र लाभले भने, ‘यो जनकपुरको विशिष्ट झुलनोत्सवका लागि पहिचान बनिरहेको छ । जानकी मन्दिरसहित जनकपुरका अधिकांश मन्दिरमा विशेष झुला बनाइएको थियो ।’

झुलाउने क्रममा विभिन्न भजनकीर्तन गरिएको थियो । राति ७ बजेदेखि १० बजेसम्म जानकी मन्दिरसहितका मन्दिरहरूमा दर्शनार्थीहरूको भीड लाग्नेगथ्र्यो । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला उत्सव मनाइन्छ ।

यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीताको मूर्ति राखी झुलाउने परम्परा रहेको छ । मिथिला क्षेत्रमा कृषि रोपाइँ सकिनेबित्तिकै झुला पर्वको रोनक सुरु हुन्छ ।

प्रत्येक मठमन्दिरमा कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाको समयमा गाउँघर र वरपरका श्रद्धालुहरू जम्मा हुने भनजकीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन रहेको  जनकपुरको रत्नसागर मन्दिरका महन्त बैकुन्ठ दासले बताए ।

झुला महोत्सव अवर्णनीय र अकथनीय छ । एकातिर यसले मानिसलाई आनन्दको अनुभूति गराउँछ भने अर्कोतिर उसको मनलाई राम भक्तितिर भक्तिभावले ओतप्रोत पारेको हुन जान्छ । झुला स्थानमा पुगेर मानिसलाई अध्यात्मवादतिर चिन्तन गर्न, सोच्न र मनन गर्न विवश पारेको हुन्छ ।

(Visited 20 times, 1 visits today)
Loading comments...