सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

आईजीपी अर्यालले भने : अहिले नेपाल प्रहरीले कसैले कल्पना नगरेको परिस्थितिको सामना गरिरहेको छ

2 years ago
06/05/2017

काठमाडौं, २२ बैशाख

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आसन्न स्थानीय निकायको निर्वाचन र समसामयिक बिषयमा प्रहरी प्रधान कार्यालय तथा उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा शुक्रबार आयोजित एक समारोहमा निर्देशन दिनुभएको छ ।

प्रथम चरणको स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न राष्ट्र सबै प्रकारले होमिइसकेको अवस्थामा निर्वाचनमा खटिएका प्रहरी कर्मचारीहरु निर्भिकताकासाथ अत्यन्त इमानदार भई सुम्पिएको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पादन गर्न निर्देशन दिनुभयो । कुनै भ्रम, अफवाहमा नरुमलिएर पूर्ण बफादारिताकासाथ जिम्मेवारी पुरा गर्नेमा प्रहरी कर्मचारीहरुको अनुभव र उर्जामा रत्तिभर शंका नभएकोमा आफू विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।

निर्भयी नेतृत्वको पहिलो शर्त नै हस्तक्षेपमुक्त, व्यवासायिक प्रहरी संगठनको वातावरण सिर्जना गर्नु हो र यस्तै वातावरण पाउनेमा निश्चिन्त हुन प्रहरी कर्मचारीहरुलाई आग्रह गर्दै प्रहरी महानिरीक्षक अर्यालले सबै प्रहरी कर्मचारीहरुले आफ्नो धरातल नबिर्सी प्रहरी संगठनको गरिमालाई कायम राख्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो ।

कसैले कल्पना नगरेको परिस्थितिको सामना हाल नेपाल प्रहरीले गरिरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले यसप्रति हुने कुनै पनि टीकाटिप्पणीतर्फ सचेत हुनुपर्ने बताउनुभयो । अत्यन्त सुझवुझपूर्ण र समझदारीका साथ संगठनको छवि र गतिलाई गर्विलो बनाउनुपर्ने अहिलेको समय भएको चर्चा गर्दै उहाँले हरेक प्रहरी कर्मचारीले आफ्नो व्यवहार, बोलीवचन, सोच्ने शैलीमा अझै परिष्कृत गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

प्रहरी कर्मचारीहरुले सदैव अनुशासन, आचरण र व्यवहारमा ध्यान दिनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक अर्यालले संगठनको नीति र मर्यादामा आँच आउने अव्यवसायिक र अमर्यादित क्रियाकलापलाई कारबाहीको दायरामा ल्याउन आफू अडिग रहेको बताउनुभयो । हालको चुनौतीपूर्ण अवस्था र अन्यौलतालाई एकतावद्ध भई संवेदनशीलताकासाथ सामना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहमा धन्यबाद ज्ञापन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले संगठन प्रमुखबाट भएका निर्देशनहरु अक्षरस पालना हुने उल्लेख गर्नुभयो । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षकहरु, बरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।