सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

ट्रम्पको नाममा भारतीय गाउँ

2 years ago
26/06/2017

एजेन्सी / नयाँ दिल्ली

भारतको राजधानी नयाँ दिल्लीबाट नजिकै पर्ने एउटा गाउँलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा नामकरण गरिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लामा पर्ने मारोरा भन्ने सो गाउँमा अधिकांश मुस्लिम समुदायको बस्ती रहेको छ । ट्रम्प नाम दिइएको सो गाउँ नयाँ दिल्लीबाट करिब ८० किलोमिटर टाढा पर्दछ ।

भारतमा शौचालयको प्रयोगबारे चेतना जगाउने तथा निःशुल्क रूपमा शौचालय निर्माण गरिदिने काम गर्दै आइरहेको संस्था सुलभ इन्टरनेसनलले त्यस गाउँलाई खुला दिशामुक्त गाउँ बनाउन सबैको ध्यानाकर्षण गराउने उद्देश्यले यस्तो नाम दिएको स्थानीय सञ्चार माध्यमले बताएका छन् ।

सो संस्थाका संस्थापक विन्देश्वर पाठकले सो गाउँप्रति सरकारले ध्यान दिएर खानेपानी र सरसफाइको अवस्थालाई विश्वस्तरमा पु¥याउनुपर्ने बताए । कुल १ सय ६५ घरधुरी रहेको उक्त गाउँमा अहिलेसम्म जम्मा २० वटा मात्र शौचालय रहेको पनि उक्त संस्थाले जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सुलभले आगामी सन् २०१९ अक्टोबर २ सम्ममा सबै घरमा कम्तीमा एउटा शौचालय निःशुल्क रूपमा बनाइदिएर खुला दिशामुक्त क्षेत्र बनाउने उद्देश्य राखेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफा भारत बनाउने घोषणा गरे अनुसार सोही मिति पर्ने गरी यो मिति तय गरिएको पनि संस्थाका संस्थापक पाठकले जानकारी दिए ।

पाठकले मारोरा गाउँलाई ट्रम्प गाउँ नामकरण गरिएको घोषणा हालै मात्रै वासिंगटन डीसीमा भएको एक कार्यक्रममा गरेका हुन् । ‘मैले त्यहाँको सरसफाइबारे मेरो प्रस्तुति दिइरहेको थिएँ । त्यहीबेला मेरो दिमागमा यस्तो उपाय आयो, यसलाई त्यहाँका जनताले राम्रै तरिकाले लिएका छन्,’ उनले भनेका छन् ।

भारतमा यसरी अमेरिकी राष्ट्रपतिको नाममा गाउँको नाम राखेको यो पहिलोपटक भने होइन । राजधानीसँग सिमाना जोडिएको दौलतपुर नासिराबाद भन्ने अर्को गाउँलाई पनि यसअघि कार्टरपुरी नाम दिइएको थियो ।

आज मोदी–ट्रम्प भेटवार्ता

वासिंगटन÷एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिका पुगेका छन् । त्यहाँ रहँदा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोमबार भेट गर्ने कार्यक्रम तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि उनीहरूबीच पहिलोपटक भेटघाट हुन लागेको हो । यसअघि मोदी र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भारतमा भेटवार्ता भएको थियो । ओबामा भारत भ्रमणका लागि त्यहाँ पुगेका थिए । भेटवार्तामा लगानी प्रवद्र्धन आपसी विश्वासका आधारमा सम्बन्ध विस्तारलगायतका विषयमा छलफल हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 

(Visited 1 times, 1 visits today)
Loading comments...