आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

पाकिस्तानमा तेल ट्यांकर दुर्घटना , आगलागी हुँदा १४० को मृत्यु

2 years ago
26/06/2017

एजेन्सी / इस्लामाबाद

पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा आइतबार बिहान तेल ट्यांकर दुर्घटना हुँदा १ सय ४० जनाको मृत्यु भएको छ । तेल ट्यांकर दुर्घटना हुँदा भएको आगलागीका कारण १ सय ४० जनाको ज्यान गएको पाकिस्तानी सञ्चार संस्था डन न्युजले जनाएको छ । ‘एउटा तेल ट्यांकर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १ सय ४० जनाको जलेर मृत्यु भएको छ,’ बहावलपुरका डीसीओ सलिम अफजलले जनाएका छन् ।

पाकिस्तानी पन्जाब प्रान्तको बहालपुरमा रहेको भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा. अरुन्जेबले थप सय जनाभन्दा बढी घाइतेको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा सो दुर्घटना भएको हो । पेट्रोलियम पदार्थ बोकेको एक ट्यांकर अकस्मात् सडकमा पल्टिएसँगै आगलागी

भएको थियो । सडकमा पल्टिएको ट्यांकरबाट पेट्रोलियम पदार्थ उठाउन त्यहाँ स्थानीयको भीड लागेको थियो । सयौंको संख्यामा जम्मा भएर नागरिकले तेल उठाउँदै गर्दा अकस्मात्आगलागी भएपछि उनीहरू सोही आगलागीको चपेटामा परेका थिए ।

सोही आगलागीमा परी कम्तीमा पनि १ सय ४० जनाको ज्यान गएको र अरू सय जनाभन्दा बढी जलेर घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै डन न्युजले जनाएको छ । सडकमा ट्यांकर दुर्घटना नै भएर हो या किन पल्टियो भन्नेबारे भने केही बताइएको छैन । त्यसैगरी तेल पोखिएपछि आगो कसरी लाग्यो भन्नेबारे पनि केही पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

तर कतिपय स्थानीय सञ्चारमाध्यमले पोखिएको तेल उठाउन आएकामध्येकै कसैले चुरोटको ठुटो त्यहाँ फालिदिएका कारण सो आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् । तर यसको पुष्टि भने भएको छैन ।

आगलागी नियन्त्रणका लागि स्थानीय दमकल विभागले दुर्घटनास्थलमा कम्तीमा तीनवटा दमकल खटाइएको छ । उनका अनुसार सो सडक बस्तीभन्दा केही पर रहेकाले बस्तीमा भने आगोको असर केही परेको छैन ।

आगलागीका कारण सडकमा गुडिरहेका अन्य सवारीसाधन पनि नष्ट भएका छन् । त्यहाँ रहेका करिब ७५ वटा मोटरसाइकल र ६ वटा गाडी भने आगोमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । अधिकांश ती सवारीसाधन पनि पोखिएको तेल जम्मा गर्न आएका मानिसको भएको अनुमान गरिएको छ ।

 

(Visited 3 times, 1 visits today)
Loading comments...