आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

महोत्सवमा १० जातिका १८ चलचित्र

2 years ago
29/06/2017

काठमाडौं

यही १७ देखि १९ असारसम्म काठमाडौंमा हुने त्रिदिवसीय ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०७४’ मा १० भाषाका १८ वटा चलचित्र चयन भएका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा हरेक दिन बिहान १० बजेबाट बेलुका ६ बजेसम्म यो महोत्सव चल्नेछ । आदिवासी जनजाति चलचित्र महासंघले गर्न लागेको यो पहिलो आदिवासी जनजाति चलचित्र महोत्सव हो । महोत्सवमा सहभागी सिनेमा सम्बन्धित जातिकै चलचित्रकर्मी संघले चयन गरेर महासंघमा पठाएको हो ।

महोत्सवमा गुरुङ, मगर, तामाङ, थारू, राजवंशी, नेवार, माझी, राई मुगाल र नागा गरी १० जातिका सिनेमा चयन भएका छन् । महासंघका अध्यक्ष अमृत सुनुवार महोत्सवमा चलचित्र चयनबारे राजधानीसँग भने, ‘महासंघका आबद्ध १० जातिका चलचित्रकर्मी संघले आफ्नो जातिबाट उत्कृष्ट फिल्म चयन गरेर महोत्सवका लागि पठाइएका हुन् । सोही आधारमा यी १८ चलचित्र हामीले महोत्सवका लागि चयन गरेर प्रदर्शन गर्न लागेका हौं ।’ अध्यक्ष सुनुवारका अनुसार महोत्सवमा चयन भएका चलचित्रमा गुरुङ भाषाबाट जसमाया गुरुङ निर्देशित ‘कर्म क्या’, भेष गुरुङ निर्देशित ‘ङ्यो थुमै’, सोम गुरुङ निर्देशित ‘त्याग’, नरजंग गुरुङ निर्देशित ‘टाढाको माया’ र गिमबहादुर गुरुङ निर्देशित ‘छ्याबाह्रामी’ रहेका छन् ।यस्तै मगर भाषाको चलचित्रमा अनिल बुढामगर निर्देशित ‘लोम्बा’ र मगर चलचित्रकर्मी संघ निर्मित÷निर्देशित ‘गुठ’सहित दुई चलचित्र रहेका छन् ।

माझी भाषामा बिन्दु माझी निर्देशित चलचित्र ‘बन्थी’, मुगाल भाषामा टोमा लामा निर्देशित चलचित्र ‘फेके’, राजवंशी भाषामा विनोद पुडासैनी निर्देशित चलचित्र ‘दखल’, नागा भाषामा भुवन सिंह राई÷निश्चल सापकोटा निर्देशित चलचित्र ‘नागा’ यो महोत्सवमा चयन भएका हुन् ।

यस्तै लिम्बू भाषाबाट सूर्यप्रकाश चेम्जोङ निर्देशित ‘पेकोसामा’, राई भाषाबाट ज्योति राई निर्देशित ‘पुवालो’ र नैना जेरुङ राई निर्देशित ‘ब्यासा’ चयन भएका छन् । थारू भाषाबाट पर्शुराम चौधरी निर्देशित ‘जितिया’, नेवार (नेपाल) भाषाबाट राजनलाल जोशी निर्देशित ‘स्टोरी अफ टाइम’ र राकेश महर्जन निर्देशित ‘कल्ली’, तामाङ भाषाबाट गोपीलाल तामाङ निर्देशित ‘बुम्बा’ यो चलचित्र महोत्सवका लागि छानिएका हुन् ।

महोत्सवको तयारी पूरा भएकाले १७ असारबाट तीन दिनसम्म यो महोत्सवलाई भव्य पार्न आफूहरूले कुनै कसर बाँकी नराख्ने महासंघका अध्यक्ष अमृत सुनुवारले बताए, ‘यसअघि हामीले आदिवासी चलचित्रका उत्सवसम्म गरेका थियौं । आदिवासी चलचित्रको विकास र विस्तारका लागि अब महोत्सव नै गर्नुपर्छ भन्ने सम्बन्धित जातीय चलचित्रकर्मीबाट आवाज उठेपछि यसपटकबाट महोत्सव नै थालेका हौं ।’

अध्यक्ष सुनुवारले भने, ‘महासंघले आफ्नो स्थापनाकालदेखि नै आदिवासी जनजाति चलचित्रहरूको प्रवद्र्धन तथा संवद्र्धन गर्नका लागि हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यो वर्षबाट महोत्सव नै सुरु गरेका हौं र यसलाई बर्सेनि आयोजना गर्नेछौं ।’ महोत्सवमा अन्तक्र्रिया, बहसलगायत विभिन्न कार्यक्रम पनि राखिएको अध्यक्ष सुनुवारले जानकारी गराए । महोत्सवमा दर्शकको भोटका आधारमा उत्कृष्ट हुने चलचित्रलाई २५ हजार रुपैयाँ पुरस्कार पनि दिइने भएको छ । महोत्सवका लागि छानिएका १८ वटै चलचित्रले प्रदर्शनी खर्चस्वरूप प्रतिसिनेमाले ५÷५ हजार रुपैयाँ पाउनेछन् ।

महासंघकी पूर्वअध्यक्ष प्रतिमाया पुनका अनुसार २०४४ सालमा नेवारी भाषाको चलचित्र ‘सिलु’ निर्माण भएदेखि झन्डै ५ सयभन्दा बढी कथानकमा आदिवासी चलचित्र निर्माण भइसकेका छन् । तर नीतिगत समस्याका कारण सोचेअनुरूप आदिवासी जनजाति चलचित्रहरूको विकास हुन नसकेको पुनले बताइन् । यो महोत्सवले आदिवासी जनजातिलाई एउटै थलोमा ल्याएर आफ्ना चलचित्रप्रति चासो र सचेतना जगाउने पनि पूर्वअध्यक्ष पुनको विश्वास छ । महोत्सवमा चलचित्रसँगै सम्बन्धित जातिका संस्कृति, वेशभूषा, जीवनशैलीसम्बन्धी जान्ने अवसर दर्शकले पाउने पनि उनले बताइन् ।

आदिवासी चलचित्रले राष्ट्रको मौलिक पहिचान बचाइराख्नुका साथै यस्ता महोत्सवले नेपालको सांस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकासमा टेवा पु¥याउने पनि महासंघको विश्वास छ ।

(Visited 13 times, 1 visits today)
Loading comments...