सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

राष्ट्रपति रनिङ सिल्डअजितको कीर्तिमान

2 years ago
07/07/2017

राजधानी समाचारदाता / काठमाडौं

मध्यमाञ्चलका अजितकुमार यादवले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन बिहीबार एथलेटिक्सतर्फ छात्र १ हजार ५ सय मिटर दौडमा विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अजितले निर्धारित दूरी ४ मिनेट ०३.३८ सेकेन्डमा पूरा गर्दै आफंैले अघिल्लो संस्करणमा बनाएको ४ मिनेट १४.५ सेकेन्डको कीर्तिमानमा सुधार गरे ।

नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : लोकेन्द्र बस्नेत

सुदूरपश्चिमाञ्चलका सुनिल सुनार दोस्रो र मध्यपश्चिमाञ्चलका माधवकुमार चौधरी तेस्रो भए । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी राममाया बुढाले दूरी ५ मिनेट १७.०४ सेकेन्डमा सकाउँदै पहिलो भइन् ।

मध्यपश्चिमाञ्चलकै आशा राउत दोस्रो र मध्यमाञ्चलकी हुमी बुढा मगर तेस्रो भइन् । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको छात्र लङजम्पमा पश्चिमाञ्चलका प्रभु थारू पहिलो भए । उनले १.६० मिटर उचाइ नाघे । पश्चिमाञ्चलकै महेन्द्र कार्कीले रजत तथा मध्यपश्चिमाञ्चलका सुजन चौधरीले कांस्य जिते । त्यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी गायत्री चौधरीले १.३८ मिटर उचाइ ना“घ्दै शीर्ष स्थानमा रहिन् । पश्चिमाञ्चलकी कुसुम राना मगर दोस्रो र मध्यमाञ्चलकी नेलिना श्रेष्ठ तेस्रो भए ।

कराँतेमा अनिल पहिलो

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको करातेको छात्र ४२ केजीमा मध्यमाञ्चलका अनिल उपरकोटी पहिलो भए । फाइनलमा उनले पश्चिमाञ्चलका बुद्ध लामालाई पराजित गरे ।

४७ केजीमा मध्यमाञ्चलका साजन लामाले स्वर्ण चुमे । उनले उपाधि भिडन्तमा मध्यपश्चिमाञ्चलका गोपाल घर्ती मगरलाई हराएको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । छात्राको ४० केजी फाइनलमा मध्यमाञ्चलकी जिया खड्गीले पश्चिमाञ्चलकी मंगला बुढा मगरलाई पाखा लगाउँदै स्वर्ण जितिन् ।

उसु : दुई स्वर्णका लागि भिडन्त

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसुको पहिलो दिन दुई स्वर्णको टुंगो लागेको छ । छात्र र छात्रामा ३–३ गरी जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

छात्र छाङ छ्वानमा मध्यमाञ्चलका राजिव तामाङ पहिलो भए । उनले सर्वाधिक ९.१५ अंक जोडे । मध्यमाञ्चलकै रविन तामाङ दोस्रो तथा सुदूरपश्चिमाञ्चलका पावल कार्की तेस्रो भए । उक्त स्पर्धाको छात्रामा मध्यमाञ्चलकी अनु राई ७.९० अंकका साथ पहिलो भइन् । मध्यमाञ्चलकी रविना गमाल दोस्रो भइन् ।

भलिबल :  मध्यमाञ्चलको दोहोरो जित

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको छात्रा भलिबलमा मध्यमाञ्चलले दोहोरो जित निकालेको छ । पहिलो खेलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–७ र २५–९ ले पराजित ग¥यो भने अर्को खेलमा पश्चिमाञ्चललाई २५–१३ र २५–१० ले हरायो । त्यस्तै पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–१० र २५–१६ तथा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१४, १६–२५ र २५–१४ ले निराश पारे ।

छात्रमा भने मध्यमाञ्चलले मिश्रित नतिजा निकाल्यो । सुदूरपश्चिमाञ्चललाई २५–१९ र २५–१२ ले हराएको मध्यमाञ्चल पश्चिमाञ्चलसँग भने १८–२५ र १७–२५ ले चुक्यो । अर्को खेलमा पनि जित हात पार्ने क्रममा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–१३ र २५–१९ ले पन्छायो । पूर्वाञ्चलविरुद्ध जित आत्मसात् गरेको मध्यपश्चिमाञ्चलले ३३–३१ र २५–२२ को प्रदर्शन ग¥यो । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशमा खेलकुदको विकासका लागि विद्यालयलाई आधार बनाएर सुरुआत गरिएको यो प्रतियोगिता खेलकुद प्रतिभाको पहिचान गर्ने उपयुक्त माध्यम भएको धारणा व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले दुई खेलबाट सुरुआत गरिएको यो प्रतियोगताको नवौं संस्करणसम्म आइपुग्दा आठ खेल समावेश हुनुले प्रतियोगताको दायरा फराकिलो बन्दै गएकोमा खुसी व्यक्त गरिन् ।

राखेप सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगितालाई अत्यधिक उपलब्धिमूलक बनाउन राखेपले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको बताउँदै सानै उमेरदेखि बालबालिकालाई खेलकुदमा सहभागी गराउन राखेपले चाँडै चिल्ड्रेन गेम्सको सुरुआत गर्ने जनाए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेलाडीहरूमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने थलोका रूपमा रहेको यो प्रतियोगिता खेलाडीको खेलजीवन आरम्भको प्रस्थान बिन्दु भएको धारणा व्यक्त गरे ।तीन दिनसम्म चल्ने केन्द्रीय स्तरको यो प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते, उसु, फुटबल र क्रिकेट गरी आठ खेल समावेश छन् ।

(Visited 1 times, 1 visits today)
Loading comments...