सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

मतदातालाई आश्वासनदेखि प्रलोभनसम्म

1 year ago
09/11/2017

वीरबहादुर गिरी / जाजरकोट

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणा भएपछि नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहले जाजरकोटको पश्चिमी क्षेत्रमा निजी लगानीमा २५ शैøयाको सुविधासम्पन्न अस्पताल बनाउन सुरुवात गरे ।

निर्वाचनको बेला मतदाता प्रभावित गर्न यो हर्कत गरेको भन्दै अन्य दलले उनको विरोध गरे । उनको सो कामको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा समेत चर्कै चर्चा भयो ।

अस्पताल बनाउने घोषणा २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनका बेला गरेको र विभिन्न तयारीपछि अहिले निर्माणको काम थालेको शाह बताउँछन् । ‘यहाँका जनतालाई भरपर्दो स्वास्थ्य सेवा दिनका लागि अस्पताल बनाउन थालेको हुँ, यसमा मेरो कुनै राजनीतिक स्वार्थ छैन,’ उनले भने ।

तर निर्वाचन सुरु भएकै बेला अस्पताल बनाउन थाल्नु सरासर मतदाता प्रभावित पार्ने काम हो जाजरकोटका एमाले अध्यक्ष करवीर शाहीले प्रतिक्रिया दिए । प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका शाही भन्छन्, ‘निर्वाचनका बेला जनतालाई भ्रममा राख्न यस्तो हर्कत गरिएको हो ।’

निर्वाचनको बेला काम देखाउनु, आश्वासन बाँड्नु र प्रलोभन देखाउनु नेपाली राजनीतिको संस्कार नै भएको प्रतिक्रिया दिँदै नागरिक समाजका अगुवा केशवजंग शाह भन्छन्, ‘यही संस्कारले अरू सामाजिक र आर्थिक मुद्दाहरू ओझेलमा पर्दै आएका छन् ।’ यतिखेर जहाँ जे समस्या देखिन्छ त्यो समाधान गर्न सबै दलका उम्मेदवार र नेताहरूले प्रतिबद्धता जनाउँदै आएका छन् । ‘निर्वाचन सकिएपछि प्रतिबद्धता पूरा गर्नु त टाढाकै कुरा, जनताको घरदैलोमा फर्केर पनि हेर्दैनन्,’ शाहले भने ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शाहले गाउँगाउँमा बिरामीको उपचार र अनाथलाई आर्थिक सहयोग गर्दै मत माग्ने गरेका छन् । निर्वाचनका बेला अनाथ तथा अन्यलाई सहयोग गर्नु आचारसंहिताविपरीत मानिए पनि शाहले यसलाई मत माग्ने राम्रो अवसर बनाएका छन् ।

उनले मतदातासँग आफू राजनीतिज्ञ नभई सामाजसेवी भएको भन्दै भोट माग्न थालेका छन् । मतदातासमक्ष शाहले आफू सधैं जनताको असली सेवक भएर काम गर्ने आश्वासन दिने गरेको प्रेस युनियनका अध्यक्ष केसीले बताए । उम्मेदवार शाह अधिक समय काठमाडौं बस्छन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत निर्वाचनको मैदानमा छन् । जाजरकोटलाई नीति निर्माणको तहसम्म जोड्न सफल भएको भन्दै उनले आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि आफूलाई जिताउन मतदातासँग अपिल गर्दै गाउँ पसेका छन् ।

आफ्नै पहलमा नलसिंहगाड जलविद्युत् आयोजना, उत्तर–दक्षिण जोड्ने भेरी कोरिडोर निर्माण सुरुवातजस्ता महŒवपूर्ण योजना सुरु गरेको भन्दै उनी मतदातासँग मत मागिरहेका छन् ।

मतदातासँग हात जोड्दै बस्नेतले भने ‘जाजरकोटले बोकेको रोग, भोग र गरिबीको पहिचान मेटाउँछौं तपाईंहरू ढुक्क हुनुहोस् ।’ २०४८ सालदेखि अहिलेसम्म कुनै पनि निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा दोहोरिएर कुनै पनि उम्मेदवारलेजितेको रेकर्ड छैन ।

जिल्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवारका साथै प्रदेशसभा सदस्यका उम्मेदवारहरूले पनि आश्वासन र प्रलोभन देखाउने गरेको मतदाताहरूको बताउँछन् ।

‘जो आउँछन् सबै यसो गर्छौं र यो दिन्छौं भन्छन्, कसको विश्वास गर्नू ?’ बारेकाट गाउँपालिका–५ नायकबाडाका महेन्द्रबहादुर सिंहले भने, ‘कोही मोटरबाटो पु¥याउँछु, कोही रोजगारी दिन्छौं, कोही क्याम्पस बनाउछौं त कोही जनताका हरेक काम आफैंले गर्ने भन्छन् ।’

सबैले प्रतिबद्धता, आश्वासन र प्रलोभन जे बाँडे पनि स्थानीय तहको निर्वाचनमा दलहरूले पाएको मतका आधारमा वाम गठबन्धन बलियो देखिएको छ । जिल्लाका ७ स्थानीय तहमध्ये पाँचवटामा वाम गठबन्धन र दुईवटामा नेपाली कांग्रेसले जितेको छ । गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले ३८ हजार ६१ मत र नेपाली कांग्रेसको १८ हजार ४ सय ३९ मत पाएको थियो ।