आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

मतदाता अझै अन्योलमा

1 year ago
26/11/2017

विधुर ढकाल / काठमाडौं

आइतबार (आज) मतदानको तयारीमा रहेकी धादिङ–२ की मतदाता ६१ वर्षीया शान्ता लम्साललाई प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मत हाल्ने तरिका अहिलेसम्म कसैले सिकाएको छैन । नीलकण्ठ नगरपालिका–९ की लम्साल महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् ।

स्थानीय तह निर्वाचनमा आफूले हालेको मत बदर नभएको बताउने उनी यस पालि मत कसरी हाल्ने भन्ने अन्योलमा रहेको बताउँछिन्  । ‘नगरपालिकाको चुनावमा स्थानीय राजनीतिक दलका कार्यकर्ता आएर मत यसरी हाल्नु भनेर सिकाएका थिए, त्यही अनुसार भोट हालें,’ उनले भनिन्, ‘अहिले सांसदको चुनावमा कसरी मत हाल्ने सिकाउन कोही आएका छैनन् ।’ निर्वाचन आयोगले मतदाता शिक्षाका लागि भन्दै मतदाता शिक्षक गाउँगाउँ खटाएको छ । तर उनीहरूको प्रभावकारितामाथि भने प्रश्न उठेको छ ।

‘खोइ मतदाता शिक्षाका लागि भनेर आउन त आएका थिए, तर केही सिकाएनन्,’ लम्सालले भनिन्, ‘आए, नाम र मतदाता नम्बर सोधे अनि गए, कसरी मत हाल्ने भन्ने सिकाएनन् ।’उनले मतदाता शिक्षा सम्बन्धित विज्ञापन टेलिभिजनमा हेरेकी छन् । तर उनी विज्ञापन हेरेर केही नबुझेको बताउँछिन् । ‘बेलाबेलामा टिभीमा भोट कसरी हाल्ने भनेर त देखाउँछ तर खोइ राम्रोसँग बुझेकी छैन,’ उनले भनिन् ।
उनी मात्र होइन गोदावरी नगरपालिका–१२ की सीता पोखरेल पनि कसरी मत हाल्ने भन्ने विषयमा जानकार छैनन् । मतदाता शिक्षक घरमा आएर पनि मत कसरी हाल्ने भन्ने सिकाएर नगएको उनको गुनासो छ । ‘खोइ दुई जना आएका थिए, नाम र परिचयपत्र सोधे, तीन वटा मतपत्र दिए तर कसरी हाल्ने भन्नेचाहिँ सिकाएनन् ।’
मतदान कसरी गर्ने भनेर सिकाउन आउने सुनेकी चन्द्रपुर रौतहटकी शोभा देवकोटा अहिलेसम्म मतदान कसरी गर्ने भनेर सिकाउन कोही नआएको बताउँछिन् । ‘स्थानीय तहको निर्वाचनमा पनि कोही सिकाउन आएका थिएनन्, आउँछन् भन्ने त सुनेकी हुँ अहिलेसम्म आएका छैनन्,’ उनले भनिन्, ‘यसो टिभी विज्ञापन हेरेकी त छु हेरौं के हुन्छ ?’ उनले मत बदर हुने चिन्ता जाहेर गर्दै थपिन्, ‘झन्झटिलो मतदान प्रक्रिया र निर्वाचन पिच्छे फरक फरक मतपत्रका कारण बदर हुन्छ कि भन्ने चिन्ता हो,’ उनले प्रश्न गरिन्, ‘हामीले त टिभी हेरेर बुझौंला तर अनपढ र बूढाबूढीले कसरी बुझ्ने ?
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १० अर्ब रुपैयाँ खर्च गर्दै छ । त्यसमध्ये प्रतिनिधिसभा तथा प्र्रदेशसभा निर्वाचनमा मतदाता शिक्षा र तालिमका लागि भन्दै निर्वाचन आयोगले १ अर्ब ४२ करोड ५९ हजार रुपैयाँ छुट्याएको छ । यसबाट निर्वाचन शिक्षकलाई तालिम, निर्वाचन शिक्षा सामग्री प्रकाशन तथा प्रसारणलगायतमा खर्च हुँदै छ । निर्वाचन आयोगका अनुसार मतदाता शिक्षाका लागि ९५ करोड रुपैयाँ तथा विभिन्न तालिमका लागि ४७ करोड ५९ लाख ६३ हजार छुट्याइएको छ ।
पहिलो चरणको निर्वाचन हुने जिल्लामा मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी गाउँगाउँमा खटिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । यसरी खटिने मतदाता शिक्षकलाई आयोगले मतदाता शिक्षासम्बन्धी तालिम दिएर खटाउँदै आए पनि उनीहरूको काम प्रभावकारी नभएको गुनासो मतदाताहरूको रहेको छ ।

आयोगले स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा र तालिमका लागि १ अर्ब ३५ करोड ८३ लाख ८३ हजार रुपैयाँ खर्च गरेको थियो । स्थानीय तह निर्वाचनमा ३ दशमलव ४४ प्रतिशत मत बदर भएको थियो । ‘हाम्रो उद्देश्य एक मत पनि बदर नहोस् भन्ने हो,’ प्रवक्ता ढकालले भने, ‘बदर प्रतिशत क्रमशः घट्दै गइरहेको छ, हामीले मतदाता शिक्षालाई प्रभावकारी ढंगले सञ्चालन गरिरहेका छौं ।’
१० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता सहभागी हुँदै छन् । जसमध्ये पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा आइतबार ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता सहभागी हुने आयोगले जनाएको छ ।
प्रत्यक्षमा बेग्लाबेग्लै समानुपातिकमा एउटै मतपत्र निर्वाचन आयोगले आइतबार (आज) हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि फरकफरक मतपत्र रहेको जनाएको छ ।
आयोगले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाउन भनेको छ ।
आयोगले दुवै मतपत्रका लागि फरकफरक मतपेटिकामा मतदान भएको मतपत्र खसाल्ने व्यवस्था गरेकोे भन्दै त्यतातर्फ विशेष ध्यान दिन मतदातामा आग्रह गरेको छ ।
यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र हल्का रातो मसिले छापिएको एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्यका लागि र तल्लो भागमा प्रदेशसभाका लागि भएको र त्यसमा भएका चिह्नमध्ये कुनै एकमा छाप लगाएर समानुपातिकतर्फकै मतपेटिकामा खसाल्न भनेको छ ।

कसरी गर्ने मतदान ?

      मतदाता परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको कुनै पनि फोटो अंकित परिचय खुल्ने परिचयपत्र साथमा लानुहोस्

      मतदान स्थल प्रवेश गरेपछि आफ्नो मतदान केन्द्रबारे जानकारी लिनुहोस्

      मतदान केन्द्रमा रहेको पुरुष÷महिला लाइनमा लामबद्ध हुनुहोस्

      अगाडि नाम रुजु गर्न बसेका निर्वाचन कर्मचारीसँग नाम रुजु गर्नुहोस्

      नाम रुजु भइसकेपछि अगाडि बढ्नुहोस्

      मतदान अधिकृतसँग मतपत्र लिनुहोस्, सँगै बसेका कर्मचारीले हातको बूढी औंलाको नङमा मसी लगाइदिनेछन्

      मतपत्र लिने क्रममा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छ छैन शुनिश्चित गर्नुहोस्

प्रत्यक्षतर्फ

      हरियो रंगको मतपत्र लिई गोप्य मतदान कक्षमा जानुहोस्

      आफूले रोजेको कुनै एक उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा स्वस्तिक छाप लगाउनुहोस्

      स्वस्तिक छाप नलत्पतिने गरी पट्याउनुहोस्

      नजिकै रहेको हरियो रंगको स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाउनुहोस्

      कालो रंगको मतपत्र लिई गोप्य मतदान कक्षमा जानुहोस्

      आफूले रोजेको कुनै एक उम्मेदवारको चिह्न रहेको कोठामा स्वस्तिक छाप लगाउनुहोस् ।

      स्वस्तिक छाप नलत्पतिने गरी पट्याउनुहोस्

      नजिकै रहेको सेतो कागजमा कालो रंगले छापिएको स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाउनुहोस्

समानुपातिकतर्फ

 

      रातो रंगको मतपत्र लिई गोप्य मतदान कक्षमा जानुहोस्

      मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधसभामा आफूले चाहेको पार्टीको चिह्न भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुहोस्

      मतत्रपत्रको तल्लो खण्डमा प्रदेशसभामा आफूले चाहेको पार्टीको चिह्न भएको कोठामा स्वस्तिक छाप लगाउनुहोस्

      मत संकेत गरेपछि स्वस्तिक छाप अन्य कोठाभित्र नपर्ने र नलत्पतिने गरी पट्याउनुहोस्

      नजिकै रहेको रातो रंगको स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाउनुहोस्

याद गर्नुहोस्

                हरियो र दोस्रो कालो रंगको मतपत्रमा कुनै एक उम्मेदवारको निर्वाचन चिह्नमा मात्र मत संकेत गर्ने

                रातो रंगको मतपत्रको माथिल्लो खण्डमा कुनै एक राजनीतिक दलको चिह्न रहेको कोठमा मात्र मत संकेत गर्ने

                तल्लो खण्डमा कुनै एक राजनीतिक दलको चिह्न भएको कोठामा मात्र मत संकेत गर्ने

                मतपत्रमा स्वस्तिक छापबाहेक अन्य चिह्न जस्तै औंठाछाप आदि नलगाउने

                दुई चिह्नको बीचमा मत संकेत नगर्ने

                स्वस्तिक छाप बिग्रिएको छ छैन, छाप लगाउनुअघि परीक्षण गर्ने

(Visited 7 times, 1 visits today)
Loading comments...