सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

भारतसँगको सम्बन्ध कांग्रेसको भन्दा राम्रो : प्रचण्ड

1 year ago
03/12/2017

राजधानी संवाददाता  / कपिलवस्तु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षपछि नेपालमा स्थायी सरकार बनाउने तयारी भइरहेको बताएका छन् । २००७ सालदेखि अहिलेसम्मको नेपाली जनताको स्थायी सरकारको चाहना वाम गठबन्धनले पूरा गरी छाड्ने जानकारी दिए ।  ‘५ वर्षसम्म ढुक्क भएर वाम गठबन्धनको सरकार बन्छ र देशले विकासमा फड्को मार्छ,’ उनले भने ।

कपिलवस्तुको बर्रोहियामा शनिबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले  आफूले एउटै कम्युनिस्ट पार्टी बनाउने र देशको विकास गर्ने संकल्पसहित वाम गठबन्धन बनाएको बताउँदै यसबाट कांग्रेस आत्तिएको जिकिर गरे ।

‘हाम्रो जीवन शान्ति प्रक्रियापछिको एक मात्र लक्ष्य थियो, कम्युनिस्ट एकता र त्यो अब पूरा हुँदै छ, यसबाट कांग्रेस आत्तिनुपर्दैन,’ उनले भने । छरिएर रहेका कांग्रेस र अन्य पार्टीलाई समेटेर लोकतान्त्रिक पार्टी बनाउन आग्रह गर्दै राजपा र राप्रपालाई समेत समावेश गर्न आग्रह गरे । पूर्वप्रधानमन्त्री दाहालले वाम गठबन्धनका पक्षमा देशैभरि लहर भएको र पहिलो चरणका ३२ जिल्लामा दुई तिहाइ ल्याउने पक्का भएको दाबी गरे । उनले अब बन्ने कम्युनिस्ट सरकारको सम्बन्ध भारतसँग अझ राम्रो हुने बताएका छन् । भारतले सधैं नेपालमा शान्ति, विकास र स्थायी सरकार चाहेको बताउँदै प्रचण्डले भारतसँगको सम्बन्ध कांग्रेसको भन्दा राम्रो हुने दाबी गरे ।

कांग्रेसले कम्युनिस्ट सरकार आए नेपाल–भारत सीमा बन्द हुने भ्रामक प्रचार गरेको भन्दै उनले भारतले त्यसो नगर्ने बताए । भारतसँग देशको मात्र नभई भावना, कला, संस्कृति र रोटीबेटीको सम्बन्ध रहेको जिकिर गरे । नेपालका दुवै छिमेकी देशसँग आफूहरूको राम्रो सम्बन्ध रहेको बताउँदै दाहालले अब सम्बन्ध अझ प्रगाढ भएर जाने बताए । ‘दुवैले नेपालमा स्थायी सरकार, शान्ति, विकास र समृद्धि चाहेका छन्, दुवै देशको राम्रो सम्बन्ध छ र हुनेछ,’ उनले भने ।

आफू नेपाल विजयी भएको र दुवै देशसँग राम्रो सम्बन्ध बनाएर नेपाललाई समृद्ध बनाउने अभियानमा लागेको दाहालले बताए । कपिलवस्तु प्रतिनिधिसभा १ का वाम गठबन्धनका उम्मेदवार बलदेव शान्ति प्रक्रिया र सेना समायोजनमा ठूलो भूमिका रहेको बताउँदै उनले जिताएर पठाए मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरे । आफू प्रधानमन्त्री हुँदा बलदेवले मुख्य रूपमा सहयोग गरी सफल तुल्याएको बताउँदै उनले अब यस क्षेत्रलाई सफल बनाउन वाम उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । उनले मधेसी जनताको पहिचान र अधिकारको लडाइँका लागि १० वर्षसम्म लडेको र निरन्तर लडिरहने बताए ।

मधेसी जनताको पहिचान र अधिकारको लडाइँमा आफूसँगै रहेको प्रतिबद्धता व्यक्त गर्दै अब बन्ने सरकारले मधेसी जनताको माग पूरा गर्ने जानकारी दिए । सभामा मधेसी, मुस्लिमलगायतका हजारौं समुदायको उत्साहजनक उपस्थिति रहेको थियो ।

(Visited 1 times, 1 visits today)
Loading comments...