आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

निर्वाचन आयोगले दियो स्पष्टीकरण

1 year ago
04/12/2017

राजधानी समाचारदाता / काठमाडौं

निर्वाचन आयोगले स्वतन्त्र, स्वच्छ र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाउँदै कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको स्पष्टीकरण दिएको छ । एमालेले आइतबार आयोगले उत्पादन गरेको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत ‘इलेक्सन क्विज’प्रति आपत्ति जनाउँदै कारबाही माग गरेपछि आयोगले स्पष्टीकरण दिएको हो ।

अभिनेता राजेश हमालद्वारा प्रस्तुत ‘क्विज’मा आयोगले कांगे्रस उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘तीन २ उम्मेदवार कहाँबाट उठेका छन् ?’ भन्ने प्रश्न राखिएकोप्रति एमालेले आपत्ति जनाएको हो ।

‘प्रचार सामग्री निर्वाचन आयोगको जानकारीबेगर भएको हो र मतदाता शिक्षाको जिम्मा लिने आयुक्तको निजी निर्णयमा भएको हो भने आयोगलाई सार्वजनिक रूपमा क्षमायाचना र आयुक्तलाई तत्काल कारबाहीका लागि माग गर्दछ,’ एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटी प्रवक्ता विष्णु रिमालले आयोगमा दिएको निवेदनमा भनिएको छ ।

‘यस विषयमा हुने आयोगको मौनता वा निर्णय ढिलाइलाई संस्थागत धाँधली प्रक्रियामा निर्वाचन आयोग संलग्न रहेको निष्कर्षमा पार्टी पुग्न बाध्य भएको’ जनाएपछि मात्र आयोगले ‘कुनै दलको पक्ष वा विपक्षमा नरहेको’ स्पष्टीकरण दिएको हो ।

आयोगले हाजिरीजवाफ प्रतियोगिता सात भागमा विभक्त रहेको र सबै भागमा प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका अध्यक्ष एवं शीर्ष नेता तथा अन्य उम्मेदवारको नाम उल्लेख भएको जनाएको छ । ‘एउटै भागमा सबै उम्मेदवारको नाम समावेश गर्न सम्भव नभएकाले सबै भागमा कुनै न कुनै उम्मेदवारको नाम समावेश होस् भन्ने असल मनसायले नाम समावेश भएको जानकारीका लागि अनुरोध छ,’ आयोगको स्पष्टीकरणमा उल्लेख छ ।

हाजिरीजवाफ प्रसारण भइसकेको पहिलो भागमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले सचिव योगेश भट्टराईको उम्मेदवारी ‘कहाँ–कहाँ छ ?’ भनेर प्रश्न समावेश भएको आयोगले जनाएको छ ।

दोस्रो भागमा राजपा नेपालका नेता राजेन्द्र महतो, कांग्रेस नेतृ आरजु राणा देउवा र एमाले नेता नवराज सिलवालबारे प्रश्न समावेश छ ।तेस्रो भागमा उम्मेदवार गगन थापा, रवीन्द्र मिश्र र विश्वप्रकाश शर्माको उम्मेदवारीबारे र चौथो भागमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र पम्फा भुसालको नाम समावेश रहेको आयोगले स्पष्ट गरेको छ ।

त्यस्तै, रेकर्ड भइसकेका पाँचौं भागमा पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई तथा छैटौं भागमा पशुपति शमशेर राणा, लालबाबु पण्डित, अग्निप्रसाद सापकोटा र सातौं भागमा केपी शर्मा ओली, विजयकुमार गच्छदार र ईश्वर पोखरेलको उम्मेदवारी सम्बन्धमा प्रश्न समावेश गरिएको आयोग सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

(Visited 8 times, 1 visits today)
Loading comments...