शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

तीनै तहबाट विकास : नेपाल

1 year ago
30/12/2017

राजधानी समाचारदाता / काठमाडौं

काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले वरिष्ठ नेता माधवकुमार नेपालले तीनै तहबाट आफ्नो क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिका ३२ नम्बर वडा कार्यालयद्वारा पूर्वाधार विकाससम्बन्धी सरोकारवालासँगको छलफलमा पूर्वप्रधामन्त्रीसमेत रहेका नेपालले विभिन्न समस्या पहिचान गरी प्राथमिकताका आधारमा स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहबाट विकास गरिने उल्लेख गरे ।

सडक, बत्ती, खानेपानी, करिडोर, जग्गा अधिग्रहणलगायतका समस्याको समाधानको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै आफ्नो क्षेत्रका जति पनि विकास निर्माणको काममा खटिने प्राविधिकदेखि इन्जिनियर, कन्सल्टेन्टदेखि ठेकेदारसम्मको पूरा विवरण राखेर त्यसको अनुगमन गर्ने उनको भनाइ थियो । ‘कसले राम्रो काम गर्यो, कसले गरेन, कसले समयमै काम पुरा गर्यो, कसले गरेन ? त्यसको म आफैंले जुनसुकै बेला पनि अनुगमन गर्न सक्छु,’ उनले भने ।

नेता नेपालले काम बिग्रे त्यसको सजाय भोग्न सम्बन्धित पक्ष तयार रहन पनि चेतावनी दिए । आफ्नो क्षेत्रअन्तर्गत कागेश्वरी मनोहरा नगरमा रंगशाला बनाउन लागेको बताउँदै नेता नेपालले आआफ्नो नगरपालिका, महानगरपालिका र वडामा नमुना काम गर्न जनप्रतिनिधिलाई निर्देशन पनि दिए । कार्यक्रममा ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुलीले आफ्नो वडामा देखिएका विभिन्न समस्या औंल्याउँदै सम्बन्धित सरोकारवालाले समयमै त्यसको समाधान गर्न निर्देशन दिए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीएसपी सन्तोष सिंह राठौर, महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक राजु लामा, मनोहरा जग्गा एकीकरण आयोजना, नागरिक उड्डयन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, सडक डिभिजन कार्यालय, काठमाडौं उपत्यका खानेपानी आयोजना, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, ट्राफिक प्रहरीलगायतका प्रमुखहरूले आ–आफ्नो क्षेत्रमा उठेका प्रश्नको जवाफ दिएका थिए । महानगरको ३२ नम्बर वडाका सदस्यद्वय सरिता दाहाल र हीरादेवी पोखरेलले पनि स्थानीय जनताका समस्याबारे प्रकाश पारेका थिए ।

 

(Visited 13 times, 1 visits today)
Loading comments...